अर्घाखाँची- अर्घाखाँचीबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका डा रामबहादुर बिसीले आफूले पाउने तलब तथा सेवा सुविधा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन्।
आफू स्वास्थ्य क्षेत्रमा काम गरिरहेको र सरकारले दिने एक लाखले मात्र क्यान्सरको उपचार सम्भव नभएर हजारौँको ज्यान गएको कारण आफू निर्वाचनमा विजय भएमा आफूले पाउने सबै तलब, सेवा–सुविधा क्यान्सर रोगीको उपचारमा खर्च गर्ने बताए।
सन्धिखर्कमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै डा बिसीले जनता जनार्दन भएकाले आफूले पाउने तलब तथा सेवा सुविधा जनताकै नाममा खर्च गर्ने बताए।
‘जिल्लालाई नमूना जिल्ला बनाउनका लागि मेरो उम्मेदवारी हो, निर्वाचनमा जनताको मन जित्ने कुरा ठूलो हो,’ उनले भने, ‘विकास गर्नका लागि उम्मेदवार भएर आएको हुँदा जिल्लाको विकासका लागि निरन्तर लाग्ने र नमूना जिल्ला बनाउने अभियानमा लाग्ने छु । जनताले यसपटक फरक व्यक्ति खोजेकाले मैले जित्ने निश्चित छ ।’ रासस