काठमाडौं- पशुपति क्षेत्र विकास कोषले पशुपति परिसरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ। उक्त क्षेत्रमा रहेका गरिब, असाहय, बेवारिसेलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको हो।
शिविरमा करिब एक सय जनाले सेवा लिएको शिविरका संयोजक तथा मनोपरामर्शदाता कञ्चन रावतले जानकारी दिइन्। उनका अनुसार तिलगंगा आँखा अस्पताल र क्विक भोलेन्टियरको सहकार्यमा भएको शिविरमा २५ जनाको आँखामा समस्या देखिएको थियो।
आँखाका समस्या भएकामध्ये ४ जनाको मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने भेटिएको छ। तिलगंगाले ती बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ।
शिविरमा सेवा लिनेमध्ये धेरैमा छारेरोग, एलर्जी, संक्रमित घाउ, टाउको दुखाइको समस्या थियो। यसैगरी, शिविरमा मनोसामाजिक परामर्श समेत प्रदान गरिएको छ। मनोसामाजिक समस्या भएका करिब १० जनालाई उपचार र पुनःस्थापना केन्द्रमा लैजानुपर्ने देखिएको मनोपरामर्शदाता रावतले बताइन्।
डा प्रदीप जोशी, डा नितिशा पाठक, डा पियूष निरौला र अप्थाल्मिक एसिस्टेन्ट सरोज देवकोटाको नेतृत्वमा तिलंगगाबाट पाँच जनाको टोली शिविरमा सहभागी थिए। यस्तै शिविरमा क्विक भोलेन्टियरका तर्फबाट अरुण खड्काको नेतृत्वमा १२ जना स्वयंसेवी खटिएका थिए।
