रत्ननगर, चितवन- नेकपा (एमाले) स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले पूर्वी चितवनमा सुविधासम्पन्न बाल अस्पताल निर्माण गरिने बताए।
पूर्वी चितवनस्थित रत्ननगरको बकुलहरमा आज निर्वाचन केन्द्रित पार्टी सम्पर्क कार्यालयको उद्घाटन गर्दै चितवन क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाण्डेले भरतपुर मेडिकल सिटीका रुपमा विकास भइसकेकाले अब पूर्वी क्षेत्र र वरपरका जिल्लालाई समेत सुविधा हुने गरी एकसय श्ययाको बाल अस्पताल निर्माण अगाडि बढिसकेको बताए।
पूर्वअर्थमन्त्री पाण्डेले बाल अस्पतालका लागि जग्गा हेर्ने काम सकिएकाले यसको प्रक्रियागत काम अगाडि बढिसकेको जानकारी दिए। मंसिर २१ गते हुन लागेको संघ र प्रदेशको निर्वाचनमा वामपन्थी गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराए दिगो विकासका योजना पर्याप्त मात्रामा ल्याउने प्रतिबद्धता उनले व्यक्त गरे। रासस