चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले माडी क्षेत्रमा बजार अनुगमनका क्रममा अवैध रुपमा सञ्चालनमा रहेका दुई वटा फार्मेसी सिल गरेको छ।
कार्यालयका बजार अनुगमन अधिकृत ओमनारायण शर्माको नेतृत्वमा उपभोक्ता अधिकार मञ्चका प्रतिनिधिसहित पुगेको अनुगमन टोलीले माडीस्थित तारा मेडिकल र विश्वास फामेर्सी बन्द गराएको हो।
विश्वास फार्मेसी अस्पतालकै रुपमा सञ्चालनमा रहेको पाइएपछि सिल गर्न निर्देशन दिइएको छ । ‘त्यहाँ बिरामी रहेकाले तत्काल सिल गर्न मिलेन, बिरामी हटेपछि फार्मेसीमा ताला लगाउन इलाका प्रहरी कार्यालयलाई भनेका छौं’, अनुगमन अधिकृत शर्माले भने।
अनुगमन टोलीले एक दर्जनभन्दा बढी होटल, किराना पसलको समेत अनुगमन गरेको थियो । सो क्रममा अधिकांश पसल दर्ता गरेरै सञ्चालनमा रहेको पाइएको र केही पसलले भने म्याद नाघेको पेय पदार्थ बिक्री गरेको भेटिएका प्रशासन कार्यालयका खाद्य निरीक्षक प्रवीण तिवारीले बताए।
म्याद नाघेका पेय पदार्थ, खानेतेल र केही पसलबाट बोतलमा बिक्रीका लागि राखिएको पेट्रोल बरामद गरी नष्ट गरिएको उनले जानकारी दिए।