काठमाडौं– चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको स्वतन्त्र विद्यार्थी युनियनले एमबिबिएसका लागि पुनः प्रवेश परीक्षाको माग गरेको छ । प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको र चिट चोरी भएको पुष्टि भइसकेकाले पुनः परीक्षा गर्न माग गरिएको स्ववियु अध्यक्ष डा मिलन गैरेले बताए ।
उनका अनुसार परीक्षा भइरहेको समयमा बाहिरबाट सम्पर्क गरी परीक्षार्थीलाई टिपाएको उत्तर र डिन कार्यालयसँग भएको उत्तर शाब्दिक सहित उल्लेख भएको पाइएको छ । परीक्षामा चिटिङ भएको यथेस्ट प्रमाण भेटिएकाले यथाशिघ्र पुनः प्रवेश परीक्षा गर्न स्ववियूले माग गरेको हो।
मंगलबार जारी विज्ञप्तिमा यस प्रकरणमा आईओएमका पदाधिकारी र विद्यार्थीको संलग्नता भएको भए कडा कारबाही गर्न पनि माग गरिएको छ।
प्रवेश परीक्षामा अत्याधुनिक डिभाइसबाट चोरी गर्ने केही विद्यार्थी र यस्तो कार्यमा संलग्न गिरोह पक्राउ परेपछि नतिजा स्थगित गरी छानविन थालिएको थियो । तर, अझै पुनः परीक्षा गर्ने वा नतिजा प्रकाशित गर्ने भन्नेमा आइएमले निर्णय लिन सकेको छैन।