चितवन– कुरिनटारस्थित दारेचोक स्वास्थ्यचौकीमा छिमेकका विभिन्न जिल्लाबाट बिरामीहरु उपचारका लागि आउने क्रम बढेको छ।
स्वास्थ्यचौकीमा चितवनका साथै गोरखा, धादिङ र तनहुँ लगायतबाट दैनिक ५० देखि ६० जनासम्म बिरामी आउने गरेका छन्।
इञ्चार्ज हरिबहादुर देवकोटाका अनुसार, सुत्केरी गराउन आउनेहरुको संख्या पनि उत्तिकै छ। गत आर्थिक वर्षमा १०७ जनाले सुत्केरी गराएको देवकोटाले जानकारी दिए।
चालू आर्थिक वर्षको साउनयता ४३ जनाले प्रसूति सेवा लिइसकेका छन्।
स्वास्थ्यचौकीले २४सै घन्टा सुत्केरी सेवा उपलब्ध गराउँदै आएको छ। इच्छाकामना गाउँपालिकाभित्रका सुत्केरी गराउन आउने महिलाहरुलाई गाउँपालिकाले हर्लिक्स र सुप नि:शुल्क दिने गरेको छ।
परिवार नियोजनको साधन इम्प्लान्ट सेवा पनि सुरु गरिएको स्वास्थ्यचौकीमा अहिलेसम्म २ सय महिलाले इम्प्लान्ट प्रयोग गरिसकेका छन्। स्वास्थ्यचौकीले एक वर्षदेखि मानसिक रोग सम्बन्धी उपचार सेवा पनि सञ्चालन गरिरहेको छ।
स्वास्थ्यचौकीमा हाल ७ जनाको दरबन्दी रहे पनि बिरामीको चाप बढे अनुसार स्वास्थ्यचौकीमा जनशक्तिको अभाव भएपछि गाउँपालिकाले ४ जना स्वास्थ्यकर्मी करारमा राखेको छ। स्वास्थ्यचौकीबाट चेपाङ समुदायले बढी सेवा लिने गरेका छन्।