काँकडभिट्टा- पछिल्लो समय सुधारोन्मुख मेची अञ्चल अस्पतालले तीन शय्याको निःशुल्क हेमो डायलाइसिस सेवा सुरु गरेसँगै बिरामीको चाप बढ्न थालेको छ।
बिर्तासिटी र ओमसाई पाथिभरा अस्पतालले यसअघिदेखि नै डायलाइसिस सेवा सुरु गरेको भए पनि सरकारी अस्पतालमा तीन महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हो।
अस्पतालमा चारवटा डायलाइसिस उपकरण छन्। जसमध्ये तीन वटा सञ्चालनमा र एउटा जगेडामा राखिएको हेमो डायलाइसिस वार्डकी इञ्चार्ज स्मृति पाण्डेले जानकारी दिइन्। सरकारी अस्पताल भएकाले यहाँ डायलाइसिस गराउन आउनेको चाप बढ्न थालेको वार्ड इञ्चार्ज पाण्डे बताउँछिन्।
अस्पताललाई दुई वटा उपकरण स्वास्थ्य मन्त्रालयले दिएको हो भने दुई वटा आन्तरिक स्रोतबाट खरिद गरिएको हो। कृत्रिम किड्नीको काम गर्ने डायलाइजर र औषधि समेत अस्पतालबाटै उपलब्ध गराइएको पाण्डेले बताइन्।
शनिबारबाहेक हप्तामा ६ दिन डायलाइसिस सेवा दिइँदै आए पनि सञ्चालनका लागि विद्युत् नभएका बेला भने समस्या हुने गरेको छ। चौबीसै घन्टा बिजुली चाहिने यस सेवाका लागि अस्पतालमा जेनेरेटरको व्यवस्था बाहेक अर्को विकल्प छैन।
डायलाइसिस सेवाका लागि दुई जना 4 स्टाफ र एकजना प्राविधिकलाई खटाइएको छ। रासस