बुटवल- शरीरमा पानीको मात्रा पर्याप्त नहुनु र लामो समयसम्म खेतबारीमा काम गर्ने कारणले रुपन्देहीका किसानलाई मिर्गौलामा समस्या देखिएको पाइएको छ।
खेतबारीमा काम गर्दा लामो समयसम्म शरीरलाई चाहिने पर्याप्त पानी नपिउने र लगातार काम गर्दा शरीरमा रहेको पानी पसिनाको माध्यमबाट बाहिरिने हुँदा शरीरमा पानीको मात्रा कम भएर मिर्गौलामा संक्रमण देखिने गरेको हो।
स्वास्थ्य मन्त्रालय र नेपाल किड्नी फाउन्डेसन, काठमाडौँको आयोजना र ब्रिज अफ लाइफ, अमेरिकाको सहयोगमा रुपन्देहीका विभिन्न स्थानमा सञ्चालित निःशुल्क मिर्गौला परीक्षण शिविरमा सहभागी मध्ये झन्डै १८ प्रतिशतलाई मिर्गौलामा समस्या देखिएको फाउन्डेसनका अध्यक्ष डा शक्ति बस्नेतले जानकारी दिए। त्यसमध्ये ५० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिमा मिर्गौलाको समस्या बढी देखिएको छ।
ग्रामीण क्षेत्रका सर्वसाधारणमा मिर्गौला स्वस्थ राख्नुपर्ने विषयमा जनचेतना नहुनु, दैनिक खानपिन र 18मा सुधार नहुनु र अनावश्यक तनाव जस्ता कारणले उच्च रक्तचाप र मधुमेहको समस्या पनि धेरैमा देखिएको डा बस्नेतले बताए। उच्च रक्तचाप र मधुमेहको समस्या भएका बिरामीको मिर्गौलामा संक्रमण देखिने गरेको उनले जनाए।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १३ र १४ को नयाँगाउँमा दुई दिन र तिलोत्तमा नगरपालिकाको कोटिहवामा दुई दिन शिविर सञ्चालन गरिएको थियो।
शिविरमा १२ सय जनाले सेवा लिएको डा बस्नेतले जनाए। रासस