उखानै छ– चिन्ताले चितामा पुर्याउँछ । यद्यपि, चिन्ता आफैँमा रोग होइन । तर, यसले थुप्रै शारीरिक तथा मानसिक रोगलाई जन्म दिने भएकाले मानव स्वास्थ्यका लागि यो घातक मानिन्छ ।
चिन्ताले गर्ने हानि
डिप्रेसन निम्त्याउँछ
चिन्ता र तनाव कम गर्न अथवा व्यवस्थापन गर्न सकिएन भने यसले डिप्रेसन र साथै अन्य कडा खालका मानसिक रोग निम्त्याउँछ ।
रोग लगाउँछ
चिन्ता र तनाव लिने व्यक्तिमा क्यान्सर, फोक्सोसम्बन्धी रोग, लिभर सिरोसिस, उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्ने जोखिम बढी रहेको विभिन्न अनुसन्धानले देखाएका छन् ।
यौनजीवन बिगार्छ
तनाव र चिन्ताका कारण शरीरभित्र उत्पन्न हुने रसायनले यौन उत्तेजना जगाउने रसायनलाई निस्तेज गरिदिन्छ, जसले गर्दा व्यक्ति यौनप्रति कम इच्छुक हुँदै जान्छ । चिन्ता लिने व्यक्तिको शरीरमा सेक्स हार्मोन टेस्टोस्टेरोनको मात्रा कम हुन्छ ।
कपाल झर्छ
चिन्ता लिँदा शरीरमा कोर्टिसोल नाम गरेको हार्मोन उत्सर्जन हुन्छ, जसले कपालका जरालाई कमजोर गरिदिन्छ र कपाल झर्न थाल्छ ।
दाँत बिगार्छ
चिन्ता बढी लिने व्यक्तिमा दाँत खिइने, गिजामा समस्या उत्पन्न हुने देखिएको छ ।
मुटु कमजोर बनाउँछ
चिन्ता लिँदा मुटुका मांसपेशी कमजोर हुन्छन् । स्टे«ेस हार्मोनले मुटुको धड्कन बढाउने र नसा संकुचित गरेर रक्तसञ्चारमा बाधा उत्पन्न गराउँछ । यस्ता व्यक्तिलाई हृदयाघात हुने जोखिम बढी हुन्छ ।
मोटो बनाउँछ
चिन्ता लिने कतिपय व्यक्ति जति खाए पनि अघाउँदैनन् । एउटा अनुसन्धानले देखाएअनुसार त्यस्ता मानिसले ४० प्रतिशत बढी खाना खाने गर्छन्, जसले गर्दा शरीर थसुल्लो पल्टिन्छ ।
बूढो बनाउँछ
सधँै चिन्तामा रहने व्यक्तिको शरीरमा नयाँ कोषिकाको विकास ढिलो हुन्छ, जसले गर्दा व्यक्ति चाँडै बूढो देखिन्छ । छालामा चाउरी पर्ने, मांसपेशी कमजोर हुने, आँखा कमजोर हुनेजस्ता बुढ्यौलीका संकेत चाँडै देखा पर्छन् ।
रोगप्रतिरोधी क्षमता घटाउँछ
चिन्ता लिइरहने व्यक्तिको शरीरमा रोगप्रतिरोधी क्षमता घट्न जान्छ, जसले गर्दा त्यस्ता व्यक्तिलाई रुघाखोकी, ज्वरोजस्ता रोग लागिरहन्छन् ।
जिनमा असर गर्छ
चिन्ता लिनाले मानिसको जिनमै बदलाव आउँछ । शरीरमा कति बोसो लाग्ने, रोगप्रतिरोधी क्षमता कस्तो हुने, बुढ्यौली कहिले सुरु हुने, क्यान्सर लाग्ने कि नलाग्ने भन्ने कुरा जिनले धेरै हदसम्म निर्धारण गर्ने गर्छ । चिन्ता लिने व्यक्तिको जिन यी स्वास्थ्य समस्या निम्त्याउने किसिमले ‘मोडिफाइड’ हुँदै जान्छ ।
दिमागमा असर गर्छ
चिन्ताले दिमागमा रहने हिप्पोक्यामस भन्ने भाग ‘ड्यामेज’ गरिदिन्छ । परिणामतः व्यक्तिको स्मरणशक्ति घट्छ ।
शरीरमा विकार बढाउँछ
चिन्ता लिँदा बोसो र चिनीयुक्त खानाप्रति आसक्ति बढ्न जान्छ, जसले शरीरमा विकार निरन्तर सञ्चय गर्दै लान्छ र शरीर विभिन्न रोगको घर बन्न पुग्छ ।
जीउ दुख्छ
चिन्ता र तनाव लिइरहने व्यक्तिको हड्डीमा खनिजकोे मात्रा घट्न जान्छ । निरन्तर चिन्ता लिने व्यक्ति जीउ दुख्ने समस्याबाट आक्रान्त हुँदै जान्छ ।
चिन्ताबाट कसरी बच्ने ?
शारीरिक श्रम गर्ने
शारीरिक श्रम गर्दा शरीरमा हुने स्ट्रेस हार्मोनको मात्रा घट्छ र तनाव कम हुन्छ । त्यही भएर काममा जाँदा गाडीको सट्टा पैदल अथवा साइकलमा जान जोड गर्नुपर्छ ।
व्यायाम
नियमित व्यायाम गर्नाले शरीरमा अक्सिजनको मात्रा बढ्छ र रक्तसञ्चार तीव्र हुन्छ, जसले स्ट्रेस हार्मोनको मात्रालाई कम गरिदिन्छ ।
प्राणायाम गर्ने
प्राणायाम श्वासप्रश्वासको विधि हो । गहिरो सास लिने र फाल्ने, फोक्सोभरि सास भर्ने र फाल्ने आदि गर्नाले समग्र शरीरमा अक्सिजनको ‘इन्टेक’ बढ्छ । अक्सिजनको इन्टेक बढ्यो भने तनाव स्वतः कम हुँदै जान्छ । तनाव बढी हुनेले भस्तृका, कपालभाँती, अनुलोमविलोम, भ्रामरीजस्ता प्राणायामका विधि अभ्यास गर्नु राम्रो हुन्छ ।
घुलमिल बढाउने
चिन्ता र तनाव भएको बखत एक्लै घोरिएर बस्नुको सट्टा साथीभाइसँग घुलमिल हुनुपर्छ । यसले तनाव कम गर्छ ।
बेस्कन हाँस्ने
बेस्कन हाँस्दा शरीरमा खुशी बनाउने हार्मोन बढ्छ र चिन्ता दिलाउने हार्मोन घट्छ । तसर्थ, बिहान–बेलुका बेस्कन हाँस्ने गर्नुपर्छ ।
गीत सुन्ने
गीत सुन्दा पनि चिन्ता कम हुने विभिन्न अनुसन्धानले देखाएका छन् ।
सत्य स्वीकार गर्ने
कुनै कुरा गुमेको कुराले चिन्ता भएको छ भने गुमेको कुरालाई स्वीकार गर्नुपर्छ । सत्य स्वीकार गरेपछि परिवर्तनप्रति अभ्यस्त हुँदै गइन्छ र चिन्ता क्रमशः कम हुँदै जान्छ ।