नेपालमा एनेस्थेसिया सेवाको इतिहास केलाउने हो भने यसको सुरुवात भएको ५९ वर्ष भइसकेको छ। शल्यक्रियापूर्व बेहोश गराउने एनेस्थेसियोलोजिस्टहरुको भूमिका महत्वपूर्ण हुन्छ।
आजको दिनमा हाम्रो देशमा एनेस्थेसिया सेवाको यति धेरै विकास र विस्तार भइसक्दा पनि सो सेवा प्रदान गर्ने छुट्टै चिकित्सक हुन्छन् भन्नेबारे अझै पनि आम मानिसलाई कमै थाहा छ । शल्यक्रिया गर्ने धेरैजसो बिरामीले यसको बारेमा सोधखोज समेत गरेको पाइँदैन । तर, प्रत्येक शल्यक्रिया गराउने बिरामी वा उसको परिवारले शल्यक्रियापूर्व कम्तीमा एक पटक बेहोश गराउने एनेस्थेसियोलोजिस्टलाई भेट्नुपर्छ।
एनेस्थेसियाको भूमिकाबारे आम जनमानस अनभिज्ञ नै रहेको यो अवस्थामा नेपालमा एनेस्थेसिया सेवाको इतिहासको चर्चा गर्नु अझ सान्दर्भिक हुन आउँछ।
आज विश्व एनेस्थेसिया दिवस। सन् १८४६ अक्टोबर १६ मा अमेरिकाको मेसेचुसेट्स जनरल अस्पतालमा विलियम थोमस ग्रिन मोर्टनले इथर ग्यासको प्रयोगबाट एक बिरामीलाई बेहोश बनाई घाँटीको ट्युमरको सफलतापूर्वक शल्यक्रिया गरेका थिए । त्यसैको सम्झनामा एनेस्थेसिया दिवस मनाउन थालिएको हो।
नेपालमा सन् १८९० मा पृथ्वी वीर अस्पतालको स्थापनासँगै आधुनिक चिकित्सा विज्ञानको सुरुवात सुरु भएको पाइन्छ। आधुनिक एनेस्थेसिया सेवाको सुरुवात पनि वीर अस्पतालबाटै भएको थियो। डा. भवानीभक्त सिंह प्रधान एनेस्थेसियामामा विशेषज्ञता हासिल गरेका नेपालका पहिलो चिकित्सक हुन्। नेपालमा विशेषज्ञ शल्य चिकित्सक समेत नभएको त्यो समयमा उनले सन् १९५८ देखि एनेस्थेसिया सेवाको सुरुवात गरेका थिए।
इतिहास खोतल्दै जाँदा सन् १९६६ मा डा. नरेन्द्रविक्रम रानाले बेलायतबाट एनेस्थेसिया विषयमा विशेषज्ञता हासिल गरी नेपालमा यो सेवाको विकास–विस्तारमा टेवा पुर्याएको देखिन्छ । सन् १९६८ सालमा वीर अस्पतालमा छुट्टै शल्यक्रिया भवन तथा शल्यक्रिया कक्षको निर्माण भई सञ्चालनमा आयो । सन् १९७० मा राजा महेन्द्रलाई हृदयघात भएपछि सघन उपचार कक्षको आवश्यकता महसुस गरी वीरबाटै नेपालमा सघन उपचार सेवा सुरु भएको थियो।
८० को दशकमा आइपुग्दा शल्य चिकित्सकहरुको संख्या ८० हुँदा विशेषज्ञ एनेस्थेसियोलोजिस्टहरुको संख्या जम्मा ६ जना थियो । त्यसैले एनेस्थेसियोलोजिस्टहरुको आवश्यकता महसुस गरी सन् १९८५ मा क्यानडाको क्याल्गेरी विश्वविद्यालयको सहयोग तथा स्वास्थ्य मन्त्रालयको सहकार्यमा शिक्षण अस्पताल महाराजगन्जमा एनेस्थेसिया विषयको एकवर्षे पठनपाठन सुरु भयो । सोही अस्पतालबाट सन् १९९६ देखि एनेस्थेसिया विषयको तीनवर्षे उच्च अध्ययन पनि सुरु भयो।
हाल नेपालमा चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज (आईओएम), विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) लगायत अन्य कलेजबाट वार्षिक ३० जनाभन्दा बढी एनेस्थेसियोलोजिस्ट चिकित्सकहरु उत्पादन हुन थालेका छन्।
नेपालमा एनेस्थेसिया सेवा हाम्रा अग्रजहरुको अथक मिहिनेत, नयाँ–नयाँ औषधि र प्रविधिको उपयोगले परिष्कृत हुँदै गयो । हाल नेपालमा जुनसुकै प्रकारका शल्यक्रियाहरुमा सहज र सुरक्षित रुपमा एनेस्थेसिया सेवा प्रदान हुँदै आएको छ।
एनेस्थेसिया सेवा शल्यक्रिया कक्षको चौघेरामा मात्र सीमित छैन । आज एनेस्थेसियोलोजिस्टहरुले सघन उपचार कक्ष, वेदना निवारण, क्यान्सरका दीर्घ रोगीहरुको वेदना निवारण लगायत शल्यक्रिया कक्षभन्दा बाहिर पनि आफ्ना सेवा दिइरहेका छन्।
एनेस्थेसिया सेवाको यति धेरै विकास र विस्तार भइसक्दा पनि सो सेवा प्रदान गर्ने छुट्टै चिकित्सक हुन्छन् भन्ने बारे अझै पनि आम मानिसहरुलाई कमै जानकारी छ । धेरैजसो शल्यक्रिया गर्ने बिरामीहरुले यसको बारेमा सोधखोज समेत गरेको पाइँदैन। तर, सुरक्षित एनेस्थेसिया सेवा लिन, प्रत्येक शल्यक्रिया गराउने बिरामी वा उसको परिवारले कम्तिमा एक पटक शल्यक्रिया पूर्व बेहोस गराउने एनेस्थेसियोलोजिष्टलाई भेट्नु पर्दछ । आफ्ना रोगको बारेमा तथा आफूले सेवन गरेका औषधीहरुका विस्तृत विवरणहरु दिनु पर्दछ । साथै निम्न कुराहरुको बारेमा समेत जानकारी राख्नु पर्दछ ।
मलाई बेहास गराउने चिकित्सक को हो ? के उसले सम्वन्धित निकायबाट विशेषज्ञताको मान्यता प्राप्त गरेको छ ?
शल्यकक्षमा बेहोस बनाउँदा प्रयोग हुने आवश्यक औषधि तथा उपकरणहरु उपलब्ध छन् वा छैनन् ?
शल्यक्रिया पछि बिरामी राख्ने कक्ष (पोष्ट अपरेटिभ वार्ड) छ वा छैन ?
शल्यक्रियाका दौरानमा आकस्मिक जटिलता उत्पन्न भएमा त्यसको समाधानका लागि उचित व्यवस्थापन हुने व्यवस्था छ वा छैन ?
एनेस्थेसिया दिनु एक जटिल र चुनौतीपूर्ण कार्य हो । यसका लागि एनेस्थेसिया विषयको ज्ञान, सीप, अनुभव, निर्णय क्षमता र आवश्यक औषधि तथा उपकरणहरुको उपलब्धता निकै महत्वपूर्ण हुन्छ । त्यसैले प्रत्येक बिरामी तथा बिरामीका परिवारजनहरुले कुनै पनि शल्यक्रिया गर्नु पूर्व माथि उल्लेखित कुराहरुमा ध्यान दिन सकेमा ऐनेस्थेसिया सेवा सुरक्षित हुन्छ ।
नेपालमा यो सेवा अझैसम्म पनि शहरी क्षेत्रका अस्पतालमा मात्रै छ । अधिकांश दुर्गम भागमा एनेस्थेसिया सेवा अझै पुग्न सकेको छैन । नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, निजी मेडिकल कलेज, नेपाल एनेस्थिया समाज र अस्पतालहरुले समन्वय गरी उपयुक्त वातावरणको निर्माण गर्नु आवश्यक छ । यो कार्य चुनौतीपूर्ण भए पनि सबैको सहकार्य र दीर्घकालीन योजना मार्फत अगाडि बढ्ने हो भने एनेस्थेसिया सेवा नेपालका दूरदराजमा पुर्याउन असम्भव छैन।
(डा बराल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, न्याम्सका एसोसिएट प्रोफेसर हुन्।)