आफ्नो स्थानबाट पाठेघर (युटेरस) बाहिर निस्कने वा आफ्नो ठाउँमा रहन नसक्ने अवस्थालाई पाठेघर खसेको भनिन्छ। महिला स्वास्थ्यका लागि धेरै कार्यक्रम अनि योजना बने पनि हाम्रोजस्तो विकासोन्मुख देशमा यो समस्या अझै टड्कारो रुपमा छ। महिला घरका कामदेखि लिएर घर बाहिरका काममा पनि उतिकै लागिपरेका हुन्छन्। गह्रौं काम गर्नेदेखि भारी बोक्नेसम्मका कामले बच्चा जन्माउने महिला जोखिममा पर्छन्।
कारणहरु
– गर्भवती अवस्थामा पाठेघर तन्किएर ठूलो हुने भएकाले पनि पाठेघर खस्ने समस्या आउन सक्छ। गर्भावस्थामा पाठेघर तन्किएर ७० देखि १ हजार ग्रामसम्म पुग्ने गर्छ। उक्त अवस्थामा पाठेघरलाई सहयोग गर्ने मांसपेसी पनि कमजोर बन्न पुग्छ। पाठेघरलाई आराम नदिईकन छिटोछिटो बच्चा जन्माउनाले पनि पाठेघर खस्ने समस्या निम्त्याउँछ।
– बच्चा जन्माउँदा लामो व्यथा लागेर वा उक्त समयमा राम्रो हेरचाह अनि सही तरिका अपनाइएन भने पनि पाठेघर कमजोर भई खस्न सक्छ।
– बच्चा ठूलो भएमा वा एकभन्दा बढी बच्चा भएमा पनि पाठेघर खस्ने समस्या आउन सक्छ।
– आमाको तौल बढी भएमा।
– महिनावारी रोकिएपछि एस्ट्रोजेन हर्मोनको कमी भएर।
– पाठेघरमा ट्युमर भएमा।
– लामो समयसम्म खोकी लागिरहेमा।
– कसै–कसैमा जन्मजात पाठेघरलाई सपोर्ट गर्ने मांसपेशी कमजोर भएमा।
समाधानका उपाय
– परिवार नियोजनका साधन प्रयोग गरी जन्मान्तर बढाउने।
– स्वास्थ्य संस्थामा बच्चा जन्माउने।
– गर्भवती हुँदाको अवस्थामा गह्रौं सामन नउचल्ने।
– आराम गर्ने (सुत्केरी अवस्थामा)।
– पाठेघरमा ट्युमर पलाएको छ भने उपचार गर्ने।
– लगातार खोकी वा कब्जियत भए, त्यसको समयमै समाधान खोज्ने।
– तौल नियन्त्रण गर्ने।
केगल व्यायम
पाठेघरको मांसपेशी अनि पाठेघरलाई सपोर्ट गर्ने मांसपेशीलाई बलियो बनाउनका लागि यो व्यायम गरिन्छ।
पिसाब फेरिरहेको बीचको बेलामा पिसाब रोक्न खोज्ने, रोक्ने अनि फेरि फेर्ने अथवा ‘पेल्भिक फ्लोर’का मांसपेशीलाई कडा बनाउने (१ देखि १० सम्म) अनि बिस्तारै खुकुलो बनाउने अभ्यास जुनसुकै बेला गर्न सकिन्छ।
जनचेतना अभावका कारण पनि पाठेघर खस्ने समस्या न्यूनीकरण भइरहेको छैन। त्यसैले जनचेतना जगाउन अत्यन्त जरुरी छ। अर्को भनेको, नियमित स्वास्थ्य जाँच गराउने, स्वास्थ्य संस्थामा बच्चा जन्माउने र त्यसका लागि प्रोत्साहन गर्ने काम पनि उत्तिकै जरुरी छ।
सरकारी अनि गैरसरकारी संस्थाबाट महिला स्वास्थ्यका लागि धेरै योजना र कार्यक्रम लागू भए पनि ग्रामीण भेगका महिलाको हितमा अझै प्रगति हुन सकेको छैन। सहरी भेगमा केही सकारात्मक सुधार भए पनि ग्रमीण भेगका महिलाको स्वास्थ्यमा उल्लेख्य सुधार आउन सकेको छैन।
अतः पाठेघर खस्ने समस्या महिला स्वास्थ्यका लागि प्रमुख चुनौती बनेको छ। यसको न्यूनीकरण गर्न महिला स्वयंजागरुक हुन आवस्यक छ। तसर्थ, आफ्नो प्रजनन अधिकार र स्वास्थ्यका लागि महिला स्वयं सुसूचित हुन उतिकै जरुरी छ।