एजेन्सी- कतिपय भिटामिन र खनिजले बेग्लाबेग्लै काम नगरी एकसाथ काम गर्छन्। कतिपय अवस्थामा भने एउटाको प्रभावलाई अर्कोले प्रभावहीन बनाउँछ। त्यसैले हामीले भिटामिन/खनिजका चक्की/क्याप्सुल खानुभन्दा भिटामिन/खनिजयुक्त भोजन गर्नु उपयुक्त हुन्छ। किनभने भोजनमा एउटा मात्र नभएर विभिन्न पोषक तत्व वा भिटामिन/खनिज पाइन्छ, जसले आपसमा प्रतिक्रिया गर्छन् वा एकसाथ काम गर्छन्। एकसाथ काम गर्ने पोषक तत्व निम्नानुसार छन्ः
भिटामिन डी र क्याल्सियम
अरु पोषक तत्वजस्तै क्याल्सियम पनि सानो आन्द्राले सोस्छ। हाड बलियो पार्ने भएकाले क्याल्सियम शरीरका लागि अत्यन्त महत्वपूर्ण छ। तर, क्याल्सियम सोस्न शरीरलाई भिटामिन डी नभई हुँदैन। शरीरमा भिटामिन डीको अन्य काम पनि छन्। त्यसैले भिटामिन डी र क्याल्सियम सँगसँगै उपभोग गर्नुपर्ने हुन्छ।
अहिले हामीलाई भिटामिन डीको दैनिक मात्रा अपुग भएकाले बढाउनुपर्ने वा नपर्नेमा बहस चलिरहेको छ। अधिकांश आधिकारिक स्वास्थ्य निकायले नै वयस्कका लागि दैनिक १ हजार मिलिग्राम क्याल्सियम र ४ सय आइयू (इन्टरनेसनल युनिट) भिटामिन डी आवश्यक भएको बताउन थालेका छन्।
सोडियम र पोटासियम
सोडियम शरीरका लागि अत्यावश्यक पोषक तत्व हो। तर, यसको बढी सेवनले रक्त वाहिनी नली खुम्चिने र फैलने प्राकृतिक क्षमता अवरुद्ध गर्छ र रक्तचाप बढाउँछ। उच्च रक्तचाप उच्च भए हार्टफेल र मस्तिष्कघातको जोखिम बढाउँछ। अधिकांश अमेरिकीले आवश्यकभन्दा बढी मात्रामा सोडियम (नुनका रूपमा) दैनिक उपभोग गरिरहेको अध्ययनहरूले देखाएका छन्।
शरीरका लागि अत्यावश्यक अर्को अर्को पोषक तत्व हो पोटासियम। यसले सोडियमको प्रभाव मत्थर पार्छ र मिर्गौलालाई सोडियम निष्कासन गर्न लगाउँछ। धेरै अध्ययनले पोटासियमको मात्रा बढी भए रक्तचाप घट्ने र उपयुक्त स्तरमा रहने देखाएका छन्। अहिले स्वास्थ्य निकायहरूले वयस्कका लागि दैनिक ४७ सय मिलिग्राम पोटासियम र १२ सयदेखि १५ सय मिलिग्राम सोडियम आवश्यक पर्ने सुझाएका छन्।
यी दुवै पोषक तत्वले एकसाथ काम गर्छन्। पोटासियमको मात्रा बढाउन पर्याप्त मात्रामा फलफूल र सागसब्जी खानुपर्छ। सामान्यतया फलफूल र सागसब्जीबाटै सोडियमको आवश्यक मात्रा पुग्ने भएकाले दैनिक उपभोग गर्ने नुनको मात्रा घटाउनुपर्छ।
भिटामिन बी १२ र फोलेट
भिटामिन बी १२ र फोलेट (भिटामिन बी समूहको एउटा भिटामिन) ले एकसाथ काम गर्छन्। भिटामिन बी १२ ले फोलेट पचाउन शरीरलाई सघाउँछ। दुवैले कोष विभाजन र कोष वृद्धिमा एकसाथ सघाउछँन्। यी दुवै पोषक तत्व बाल्यावस्था र युवावस्थामा बढी महत्वपूर्ण छन्, किनभने त्यसबेला शारीरिक तथा मानसिक विकास हुन कोष विभाजन र कोष वृद्धि प्रक्रिया सबैभन्दा बढी हुन्छ। यसबाहेक हाम्रो पेट र कपालका कोषहरू प्रायजसो विभाजन र वृद्धि भइरहेका हुन्छन्।
मासु, अन्डा र दूधमा पर्याप्त मात्रामा भिटामिन बी १२ पाइन्छ। हरिया सागसब्जी, गेडागुडी (बोडी, सिमी आदि) मा फोलेट प्राकृतिक रूपमा पाइन्छ।
माछामासु र जनाबरबाट उत्पादित खाद्य सामग्री नखानेहरूमा भने भिटामिन बी १२ को कमी हुनसक्छ। साथै पर्याप्त भोजन नगर्ने र अत्यधिक अल्कोहल सेवन गर्नेहरूमा फोलेटको कमी हुनसक्छ।
फोलिक एसिड वा मल्टिभिटामिनको चक्की/क्याप्सुलले फोलेटको कमी पूरा गर्न सकिन्छ। भिटामिन बी १२ को कमी भने केही समय इन्जेक्सन वा चक्की/क्याप्सुल खाएर पूरा गर्न सकिन्छ।
यी दुवै वा दुवैमध्ये एउटा पोषक तत्वको कमी भए ‘माइक्रोसाइटिक एनिमिया’ हुन्छ। भिटामिन बी १२ को कमी हुँदा जीउ सिरिङ्ग हुने र स्मरण शक्तिमा ह्रास आउने हुनसक्छ।
जिंक र कपर
यी दुवै पोषक तत्वले संयुक्त रूपमा काम गर्दैनन्, बरु प्रतिस्पर्धी हुन्। त्यसैले शरीरमा उपयुक्त अनुपातमा जिंक र कपर हुनुपर्छ। जस्तो कि, शरीरमा जिंकको मात्रा धेरै भए कपरको मात्रा घट्न थाल्छ र कपरको कमी हुन्छ।
जिंक–कपरको अन्तर्क्रियाको सम्बन्ध दृष्टिसम्बन्धी एउटा विशेष अवस्थासँग जोडिएको छ। ‘माकुलर डिजेनेरेसन’ भनिने यो अवस्थामा दृष्टि धमिलो हुन्छ। यसलाई एआरएमडी (एज रिलेटेड माकुलर डिजेनेरेसन) पनि भनिन्छ। यसले अन्ततः दृष्टिविहीन बनाउँछ। यस्तो अवस्थामा बिरामीलाई भिटामिन र खनिज एकसाथ दिइन्छ, जसलाई ‘एआरइडिएस’ भनिन्छ। भिटामिन र खनिज मिसाएर गरिने सेवनले एआरएमडीलाई छिटो बढ्न दिँदैन।
नाइसिन र ट्रिप्टोफ्यान
नाइसिन पनि भिटामिन बीमध्येको एउटा भिटामिन हो। पुरुषलाई दैनिक १६ माइक्रोग्राम र महिलालाई १४ माइक्रोग्राम नाइसिन चाहिन्छ। नाइसिनको कमीले पेलाग्रा, झाडापखाला र डिमेन्सिया (विस्मृति) जस्ता रोग लाग्छन्। यसैगरी, ट्रिप्टोफ्यान एउटा एमिनो एसिड हो र यो नाइसिनको स्रोत पनि हो। त्यसैले नाइसिनको कमी पूरा गर्न ट्रिप्टोफ्यान प्रसस्त पाइने खानेकुरा खानुपर्छ।
कुखुराको मासु, टर्कीको मासु, रातो मासु, माछा, अन्डा, विभिन्न बदाम, सूर्यमुखीको बीउ, फर्सीको बीउ, चकलेट, ओट (जौको चिउरा), सुक्खा फलफूल÷छोगडा, दूध, दही र चिज लगायत खानेकुरामा प्रशस्त ट्रिप्टोफ्यान पाइन्छ।