हिँड्ने क्रममा खुट्टामा पीडा हुन्छ या खुट्टाको औंलामा पोलेको जस्तो अनुभव हुन्छ भने भास्कुलर रोग लागेको हुन सक्छ । यो लेग अट्याकको पहिलो लक्षण हुन सक्छ । लेग अट्याक हर्ट अट्याकभन्दा बढी खतरापूर्ण हुन्छ । सुरुमै पत्ता लाग्यो र उपयुक्त उपचार भयो भने यो सजिलै निको हुन्छ । तर, उपचारमा ढिलाइ भयो भने उपचार जटल हुन्छ ।
यसलाई इन्डोभास्कुलर (एन्जिओप्लास्टी तथा स्टेन्टिङ), तथा ओपेन सर्जरी (बाइपास तथा रिमुभल अफ प्लाक) बाट उपचार गनुपर्ने हुन्छ । अन्तिम अवस्थामा खुट्टा नै काट्नुपर्ने पनि हुनसक्छ । धूमपान गर्ने, मधुमेहको समस्या भएका, उच्च रक्तचाप तथा उच्च कोलेस्टेरोल, ५० वर्ष नाघेका व्यक्तिमा र वंशाणुगत रुपमा यस्तो समस्या हुन सक्छ ।
भ्यारिकोज भेन
खुट्टा तथा पैतालाको नसामा असामान्य अवस्था आउने समस्यालाई भेरिकोज भेन भन्ने गरिन्छ । यसमा खुट्टाको नसा सुन्निले या ठूलो हुने हुन्छ, जुन निकै पीडादायी हुन्छ । समयमै उपचार नगरे नसा फुट्ने या अल्सरसम्म हुने हुन्छ । यसलाई भास्कुलर सर्जनले आधुनिक तरिकाले इण्डोभेनस थर्मल एब्लासन गरेर उपचार गर्छन् । प्रायशः लामो समयसम्म उभिनुपर्ने व्यक्ति, गर्भवती, मोटोपना भएको व्यक्ति, वृद्धवृद्धा र आनुवंशिक रुपमा यो रोग लाग्छ ।
खुट्टा सुन्निने (लेग स्वेलिङ)
भ्यारिकोज भेन, लिम्फेडिमा, मुटु फेलियर, मिर्गौला फेलियर आदि कारण खुट्टा सुन्निने हुन्छ । यसो भयो भने सकेसम्म चाँडो भास्कुलर सर्जनलाई देखाइहाल्नुपर्छ ।
- डा सन्दीपराज पाण्डे