काठमाडौं– तीन ठूला दल निकटका विद्यार्थी संगठनले मेडिकल शिक्षामा भएको मनपरितन्त्र र चर्को शुल्क असुलीलाई रोक्न र अविलम्ब कारबाही प्रक्रिया अघि बढाउन २१ सदस्यीय अनुगमन टोली गठन गरेका छन्।
एमाले, कांग्रेस र माओवादीका भातृ संगठनहरु अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीका अध्यक्षहरु नविना लामा, नैनसिंह महर र रञ्जित तामाङले आज एक संयुक्त विज्ञप्ती जारी गरी टोली गठन गरेको जानकारी दिएका हुन्।
सरकारले तोकेको मापदण्ड र निर्देशन विपरित मेडिकल शिक्षामा मनोमानी गर्दै चर्को शुल्क असुली गर्ने मेडिकल कलेजको अध्ययन गर्न ती संगठनले अध्यक्षत्रयको नेतृत्वमा २१ सदस्यीय टोली गठन गरेका हुन्। टोलीमा प्रत्येक विद्यार्थी संगठनबाट ७/७ जना सदस्य रहनेछन्।
टोलीले भैरहवाको युनिभर्सल मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, चितवनको चितवन मेडिकल कलेज, विरगंजको नेशनल मेडिकल कलेज र ललितपुरको किस्ट मेडिकल कलेजको अनुगमन गर्ने तीन विज्ञप्तीमा उल्लेख छ।
त्यस्तै विद्यार्थी संगठनले राज्यलाई अटेर गरी कर नतिर्ने लिटिल एन्जल्स, डिएभी, जेम्म, रातो बंगला, आदर्श विद्या मन्दिर, ब्रिटिस स्कुल र युनाइटेड एकेडेमी लगायतका विद्यालयलाई ६ दिनभित्र कर असुर गर्न सम्बन्धीत निकायलाई आग्रह गरेका छन्।
विज्ञप्तीमा आफ्ना मागको अविलम्ब सम्बोधन नगरिए कडा संघर्षमा उत्रने चेतावनी समेत दिइएको छ।
