‘गंगाजी तपाई त्यहाँ पुग्नुपर्छ है। किनकी त्यो ढुँगा खानीमा तपाईंको सुरक्षित महिनावारी कार्यक्रमको आवश्यकता छ।’
एकदिन तमघास निवासी गणेश श्रेष्ठले मलाई भन्नुभयो।
मेरो जवाफ– भैहाल्छ नि। तपाई–हामी सँगै जाउँला।
गुल्मीको रेसुङ्गा नगरपालिका १४ उर्लेनीमा रहेको ढुंगाखानीमा ६०–६५ को हाराहारीमा महिलाहरुले काम गरिरहेको जानकारी लिएर हामी महिनावारी स्वास्थ्य शिक्षा अभिमुखिकरण कार्यक्रम अन्तर्गत उर्लेनीको ढुंगा खानीमा जाने निर्णय गर्यौं। गत हप्ता मंगलबार गणतन्त्र दिवसको अवसरमा गर्ने कार्यक्रमको निर्णयको बिषयमा म पनि बैठक हलमा पुगेकी थिएँ।
बैठकमा गुल्मीका क्रियाशिल अधिकारकर्मी विष्णुकमारी सापकोटासँग भेट भयो अनि महिनावारी सरसफाई दिवस सन् २०१६ को पूर्व सन्ध्यामा श्रमिक महिलाको महिनावारीको अवस्था बुझ्न जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक युवराज सलामी सहितको टोली र सेवा सञ्चार गुल्मीका हामी सदरमुकाम देखी ढुँगाखानी तिर हिड्यौ। करिब एक घण्टाको पक्की बाटो पछि एकदमै अप्ठ्यारो बाटोतिर लाग्यौं। गाडी जान निकै गाह्रो हामी गाडीबाट झरेर श्रमिक महिलाहरु भएको ठाउँतिर केन्द्रित भयौ।
डरलाग्दो भीर। चिप्लियो भने ज्यानको आशा नगरे नि भो। माथिबाट ढुंगा खस्लान् भन्ने उत्तिकै पीर। चट्याङ पर्ने मौसम, त्यसको पनि डर। पानी आइरहेकै छ।
एकछिन महसुस गर्यौ र सोच्यौँ कसरी ढुक्क भएर काम गरिरहेका होला श्रमिकहरु ? महिलाहरु हामी भएको ठाउँसम्म आइपुग्नलाइ निकै गाह्रो हुँदोरहेछ। ठुलो ढुंगाखानीको भिरमा छरिएर रहेका श्रमिक महिलाहरुलाई जम्मा गर्न हामीलाइ झण्डै आधा घण्टा लाग्यो। एक मिनेटमा १० टुक्रा गिट्टी फोरेर जिवन चलाइरहेका श्रमिक महिला हाम्रो कार्यक्रममा सहभागी गराउनलाई हामीले कति धेरै प्रयास गर्नुपर्यो। बल्ल तल्ल जम्मा गर्यौ।
महिनावारीको कुरै गर्न लाज मान्न थाले उनीहहरु। श्रमिक महिलासँग हामीले अझ नजिक बनेर कुराकानी गर्ने प्रयास गरेपछि आफ्नो परिचय खुलाउन थाले । कोही खोटाङ्गबाट, कोही पाल्पाबाट कोही बाग्लुङ्गबाट यहाँ काम गनृ आइपुगेका रहेछन्।
उनीहरुसँग महिनावारी सम्बन्धी कुरा गर्नु भनेको त लाजका सार सीमा नाघ्नुजत्तिकै भयो। हामीले कुरा शुरु गर्दा लाजको हाँसो हाँस्दै श्रीमान्तिर फर्किन्थे महिलाहरु।
हामीले हाम्रो प्रयास छोड्ने कुरै थिएन। बोल्दै सिकाउँदै अनि स्वास्थ्य प्रति गम्भिर बनाउँदै जाँदा श्रमिक महिलाहरु हल्का आफ्नो समस्या भन्न थाले। कसैलाई १०–१० दिनमा महिनावारी हुने।
काम गर्दागर्दे महिनावारी भयो भने के प्रयोग गर्नुहुन्छ ?
‘जे जमिनमा भेटिन्छ त्यहि चिज प्रयाग गर्छौ।’
अनि के के समस्या छन् ?
‘सेतो पानी बग्छ। अनि महिनावारी हुँदाको रगत पनि निकै गन्हाँउछ। त्यसैले कसैको नजिक जान मन लाग्दैन।’
यो समस्या त्यहाँका लगभग सबै महिलामा रहेछ। हामीले स्वास्थ्यप्रति निकै गम्भिर बनाउँदै र ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी गराउँदै जाँदा श्रमिक पुरुष पनि काम छोडेर हामी भएतिरै आउनुभो। धेरै मानिसको बिचमा पनि निकै सुनसान। हामी मात्रै बोलीरहेका थियौँ। श्रमिक महिलाहरु आफ्नो स्वास्थ्य प्रति यति गम्भिर भएर सुन्नु भयो कि एक मिनेट पनि काम छाड्न नसक्ने उहाँहरुले तीनघन्टा बिताउनुभयो ।
श्रमिक महिलाहरुको लागी हामीले उपहार स्वरुप स्यानेटरी प्याड बितरण गर्न शुरु गर्यौँ। श्रमिक पुरुषको भिडभाडमा माथी बसेर हाम्रो कुरा सुनिरहनु भएका एक श्रमिक पुरुषको आवाज आयो, ‘ मलाइ पनि एउटा प्याड दिनुस् न ?’
के को लागी तपाईंलाई ?
‘मैले तपाईको धेरै कुरा सुने मेरो छोरी पनि नछुने हुन्छ त्यसैले छोरीको लागी दिन मिल्छ ?’
हामीले कार्यक्रममा नआएकालाई दिने गरेका थिएनौं।
उहाँलाई केही थान सेनिटरी प्याड दिएर भने, ‘श्रीमतीलाई सिकाउनुहोला। उहाँले छोरीलाई सिकाउनुहुन्छ।’
कहिलेकाहिँ यस्ता वुवा र श्रीमान्हरु हामी भेट्ने गर्छोँ। निकै खुसी लाग्छ। त्यो दिन पनि म निकै खुशी भएँ। चेतना भएपछि त उनीहरु आफ्ना परिवारका लागि सोच्ने रहेछन्। अभाव त चेतनाकै छ। प्रहरी सहायक निरीक्षक युवराज सलामीले काम गर्दा कुनै शोषण वा अन्न्याय भयो भने आफूलाई खबर गर्न आग्रह गर्नुभयो। साथै महिनावारीको समयमा कसैले हिँसा वा घृणा गरेको अवस्थामा प्रहरीलाई उजुरी दिए आफू सधैँ श्रमिक महिलाको हितमा रहेको जानकारी गराउनु भयो।
हामीले फर्किने निधो गर्यौं। उनीहरुले मलिन अनुहारमा आग्रह गरे, ‘अब आउँदा डाक्टर पनि सँगै ल्याइदिनुहोला।’
हामीले प्रयास गर्छौं भनेर ढुँगाखानीबाट सदरमुकाम तिर लाग्यौँ। सरकारका धेरै कार्यक्रम जहाँ सजिलो र सुगम छ त्यतातिर मात्रै पुग्छन्। फर्किदै गर्दा लागिरह्यो– देशकै लागि देशमै परिश्रम गरिरहेकाहरु नेपाली नागरिक होइनन् ? जसले सरकारका कुनै निकायसम्म आफ्नो पहुँच पुर्याउने सक्दैनन् ती श्रमिकहरुको बस्तिमा कसले सेवा पुर्याउँछ ?