निपा भाइरस पशुबाट मानिसमा सर्ने नयाँ रोगको रुपमा विकसित हुँदै गरेको एक खतरनाक भाइरस संक्रमण हो। यसले मानिस र पशु दुबैलाई संक्रमण गर्न सक्दछ। यस भाइरस प्राकृतिक रुपमा टेरोपस भन्ने प्रजातिको चमेरोमा रहने गर्दछ।
निपा भाइरस पारामिक्जोभाइरिडि परिवारभित्र पर्ने हेप्नीभाइरस भन्ने समूहको एक सदस्य हो जसमा यस बाहेक हेन्ड्रा भाइरस पनि पर्दछ। सन् १९९४ मा घोडा र मानिस हरुमा श्वासप्रश्वास सम्बन्धि रोगको कारक तत्वको रुपमा यस भाइरस पहिलोपटक पत्ता लागेको थियो।
त्यसैगरि पहिलो पटक सन १९९८ मा मलेसियामा यो भाइरस संक्रमणले महामारीको रुप लिएको थियो। त्यस बखत सुंगुरको माध्यमबाट यो भाइरस मानिसमा सरेको थियो। त्यसपश्चात् सिङ्गापुरमा र सन् २००४ मा बङ्लादेश हुँदै भारतसम्म देखापरेको थियो। हालसालै भारतको केरलामा निपाह भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक भएको छ।
कसरी सर्दछ निपा भाइरस?
बैज्ञानिक अनुसन्धान अनुसार निपाह भाइरसलाई मानिस अथवा जनावरले श्वासप्रश्वासद्वारा निल्नाले यसको संक्रमण हुने गर्दछ। यसले श्वासनलिमा रहने इपिथेलियल सेलमा आक्रमण गरि संक्रमण सुरु गर्दछ। मुख्य रुपमा दुईवटा बाटो मार्फत् केन्द्रिय स्नायु प्रणालीमा प्रवेश गर्दछ। इपिथेलोयलबाट भाइरस अल्फ्याक्टोरी भन्ने नसा हुँदै अथवा रगतको बाटो हुँदै कोरोइड प्लेक्सस र स्नायु रक्तसञ्चार प्रणालीमा प्रवेश गर्दछ।
प्रमुख रुपमा आफ्नो प्राकृतिक भाण्डारण चमेरोबाट कुनै मध्यस्त जनावर जस्तै घोडा, सुँगुर, गाई गोरु इत्यादि अथवा प्रत्यक्ष रुपमा चमेरोको संसर्गमा आएको फलफुलबाट सर्ने गर्दछ। पछिल्लो पटक बंगलादेशमा भएको महामारी चमेरोले खाएको सुपारीबाट भएको अनुसन्धानबाट पत्ता लागेको थियो। त्यस पश्चात् भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा पनि सर्न सक्दछ।
संक्रमणका लक्षणहरु
निपा भाइरस संक्रमणको लक्षण फरक–फरक हुने गरेको पाइएको छ। कोही ब्यक्तिहरुमा यस भाइरसले कुनै पनि लक्षण बिना नै संक्रमण गर्न सक्छ भने कुनै ब्यक्तिहरुमा सामान्य श्वासप्रश्वास प्रणालिमा समस्या ल्याउने देखि खतरनाक इन्सेफलाइटिस सम्मको लक्षण देखा पर्न सक्दछ।
सुरुको अबस्थामा यस भाइरस संक्रमणको लक्षण इन्फुएन्जा (फ्लु) को जस्तै ज्वरो आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, वाकवाकी लाग्ने र टन्सिलाइटिस जस्ता लक्षण हरु देखापर्दछन्। यो भाइरसले स्नायु प्रणालीमा आफ्नो संख्या बृद्धिसँगै रिंगटा लाग्ने, झुम्म बनाउने, कहिलेकाहिँ बेहोस बनाउने जस्ता इन्सेफ्लाइटिसको लक्षणहरु देखा पर्न थाल्दछन्। केही ब्यक्तिहरुमा यसले निमोनिया र श्वासप्रश्वासमा बाधा ल्याउन पनि सक्दछ भने रोगले अझै गाल्दै लैजाँदा हातगोडा काम्ने र मस्तिष्क सुन्निने लक्षण हुँदै मानिस लक्षण देखा पर्न थालेको २४ देखि ४८ घण्टामा कोमामा जान सक्दछ।
यो रोगको संक्रमण समय ४ देखि १४ दिनसम्म रहेको बैज्ञानिक हरुले दाबी गरेका छन्। यस रोग लागेको लगभग ४० देखि ७५ प्रतिशत मानिसको मृत्यु हुन सक्ने र २० प्रतिशत मानिस कुनै न कुनै स्नायु प्रणालीको समस्या (जस्तै शरीर काँप्ने, ब्यक्तित्व परिवर्तन) जस्ता समस्या देखा पर्न सक्दछन् भने सामान्य मस्तिष्क सुन्निने लक्षणलाई जित्न सक्ने मानिस भने पूर्ण रुपमा निको हुन सक्दछ।
कसरी पत्ता लगाउने ?
रोग लागेको प्रारम्भिक रुपमा लक्षणहरु हेरेर र रोगको आशंका लागेमा शारिरिक तरल पदार्थ हरुको प्रयोगशालामा परिक्षण गरेर रोग पत्ता लगाउन सकिन्छ। यस भाइरसको लागि प्रयोगशालमा शरिरले पैदा गर्ने तरल पदार्थहरु जस्तै (पसिना, र्याल) आदिको नमुनाको इएलाइएसए, पीसीअआर र भाइरस कल्चर गर्ने विधिद्वारा संक्रमण प्रमाणित गर्न सकिन्छ।
उपचार
यसको लागि हालसम्म कुनै औषधि र भ्याक्सिनको विकास भइसकेको छैन। रोगको लक्षण अनुसार सघन उपचार कक्षमा राखी स्नायु प्रणालीमा देखापर्ने लक्षणको आधारमा उपचार गर्ने बिधीलाई विश्व स्वास्थ्य संगठनले उपचार बिधिको रुपमा सुझाएको छ।
बच्ने उपाय
चमेरो यसको मुख्य स्रोत भएकोले चमेरोले जुठो हालेर छोडेको फलफुलरु (विशेष गरी रुखमा पाकेर आदि खाइएको ) नखाने, फलफुल राम्रोसँग पखालेर तथा तरकारीहरु सकेसम्म पकाएर खाने गर्नाले प्रत्यक्ष रुपमा चमेरोबाट हुने संक्रमणबाट वच्न सकिन्छ। यसको साथै जनावरको गोठ, फार्महरु सफा राख्ने, मासु काट्दा पकाउँदा पन्जा र मास्कको प्रयोग गर्नाले जनावरबाट हुन सक्ने संक्रमण बाट बच्न सकिन्छ। संक्रमित मानिसहरुबाट जोगिनको लागि हात मिलाउने, अंकमाल गर्ने, भिडभाडमा जाँदा बिरामीलाई भेट्न जाँदा मास्क लगाउनु राम्रो हुन्छ।
साइमन हाल द कोरियामा माइक्रोबायोलोजी विषयका बिध्यावारिधी सोधकर्ता हुन्।