कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाँडीका समूहमा आबद्ध महिला जडिबुटी खेती गरेर आत्मनिर्भर हुनथालेका छन्। सात समूहमा आबद्ध करीब ४० महिलाले दुई बिगाहमा मेन्था खेती गरेर तीन महिनाको अवधिमै एक लाख ५६ हजार १ सय ६६ रुपैयाँ आम्दानी गरेका छन्।
उनीहरुले आम्दानी भएको रकममध्ये १० प्रतिशत रकम कोषमा जम्मा गरेका छन्। आम्दानीको बाँकी रकम भने बाँडेका छन्। घर खर्चका लागि पहिला श्रीमानकै मुख ताक्नुपर्ने अवस्था थियो। स्थानीय भोटनी चौधरीले भनिन्– हाल जडिबुटी खेती गर्न थालेपछि घर खर्च आफैं चलाउन थालेका छौं।
'घर खर्चका लागि जडिबुटीको रकमले धान्न थालेपछि श्रीमानलाई पकेट खर्चसमेत दिन थालेका छौं', उनले भनिन्, 'पहिला श्रीमानसँग खर्च माग्थ्यौं, अब श्रीमानलाई कमाएर दिनथालेका छौं।'
जडिबुटी खेतीबाट गतिलो आम्दानी हुनथालेपछि श्रीमान् तथा घरपरिवारले समेत सहयोग गर्न थालेको रोहिना ओखेडाले बताइन्।
मेन्था, क्यामामाइल र असारे प्रशोधन गरी तेल निकालेर बिक्री गरेर आएको आम्दानीले यहाँका महिलाले घर खर्चसँगै बालबालिकाको विद्यालयको खर्चसमेत धान्ने गरेका छन्। मेन्थाको प्रशोधित तेल दुई हजार दुई सयमा बिक्री हुने गरेको छ। थोरै जग्गामा मेन्था खेती गरेका महिलाले यस वर्ष धेरै जग्गामा खेती गर्ने सोच अघि सारेका छन्।
अन्नबाली लगाउँदा जंगली जनावरले नोक्सानी पुर्याएर हैरान बनाउँदै आएको छ सुकनी चौधरीले भनिन्, “जडीबुटी खेतीलाई जनावरले समेत नोक्सान नगर्ने र चाहे भन्दाबढी आम्दानी हुने भएकाले पुरै जग्गामा जडीबुटी खेती गर्ने योजना बनाएका छौँ ।”
समूहमा आबद्ध १३ जना महिलाले क्यामाइल आठ किलो सात सय ४० ग्राम उत्पादन गरेर चार लाख ६३ हजार १ सय २० रुपैयाँमा बिक्री गरेका छन्। जसमध्ये कोषमा ४६ हजार ३ सय १२ रुपैयाँ जम्मा गरेका छन्। बाँकी आम्दानी बाँडेर लिएका छन्। क्यामामाइल प्रतिकिलो ५३ हजार रुपैयाँका दरले बिक्री भएको छ।
क्यामाइलबाट बढी आम्दानी हुन थालेपछि प्रगति महिला जडिबुटी प्रशोधन उद्योगको समूहमा आबद्ध महिलाले नर्सरीमा बिरुवा उत्पादनसमेत गर्न थालेका छन्। नर्सरीमा उत्पादित बिरुवा महिलाले अन्न फल्ने खेतमा रोप्ने भएका छन्।
'अन्नबाट ६ महिनासमेत खान पुग्दैन', सोनी चौधरीले भनिन्, 'जडीबुटी खेती गरेपछि वर्ष भरिका लागि घर खर्च चलाएर भविष्यका लागि समेत केही रकम बचत गर्न सकिएको छ।'
यसैगरी, महिलाले नै संरक्षण गरेको प्रगति महिला सामुदायिक वनमा रहेको असारे प्रशोधन गरी महिलाले एक लाख ३२ हजार रुपैयाँ आम्दानी गरेका छन्। प्रशोधित असारेको तेल प्रतिकिलो चार हजार रुपैयाँका दरले बिक्री भएको छ।
निड्स नामक गैरसरकारी संस्थाले जडिबुटी खेती गर्ने महिलाले उत्पादन गरेको जडिबुटी प्रशोधन गर्नका लागि ६ लाख खर्चेर प्रशोधन प्लान्ट स्थापना गरिदिएको छ। प्लान्टसँगै जडिबुटी सुकाउनका लागि छहारी निर्माण गरेको छ।
संस्थाकै पहलमा विपन्न महिलाको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि एक लाखको घुम्ती कोषसमेत स्थापना गरिएको छ। घुम्ती कोषबाट न्यून ब्याजमा महिलाले रकम लगानी गरी किराना पसल, कुखुरा, बंगुर, भैंसी पालनसमेत गरेका छन्।