काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पोषण, स्वच्छ ऊर्जा र विपद् प्रतिकार्यजस्ता क्षेत्रमा नेपाल–भारत सहकार्यलाई संस्थागत रूपमा अघि बढाउनुपर्ने प्रस्ताव गरेका छन्।
भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ अन्तर्गत ‘अ वर्ल्ड बिट्विन अर्डर्स’ सत्रमा भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँगको संवादका क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन्।
डा. वाग्लेले नेपालमा हालै रोशी क्षेत्रमा आएको विपद् र सन् २०१५ को भूकम्पका बेला भारतले गरेको सहयोगको प्रशंसा गरे। दुवै घटनामा विपद् आएको केही घण्टाभित्रै भारत सहयोगका लागि उपस्थित भएको उल्लेख गर्दै उनले त्यसका लागि नेपाल आभारी रहेको बताए।
उनले योग, कोदो, सौर्य ऊर्जा र विपद् प्रतिकार्यलाई नेपाल–भारत सहकार्यका महत्त्वपूर्ण क्षेत्रका रूपमा उल्लेख गरे। यी क्षेत्रमा द्विपक्षीय, त्रिपक्षीय वा उपक्षेत्रीय तहमा सहकार्यलाई औपचारिक संरचनामार्फत अघि बढाउन सकिने सम्भावनाबारे उनले भारतीय विदेशमन्त्रीसँग प्रश्न गरेका थिए।
डा. वाग्लेले सन् १९९० को दशकमा शीतयुद्धको अन्त्यपछि व्यापार र अर्थतन्त्रमा बहुपक्षीय सहकार्यलाई प्राथमिकता दिइएको उल्लेख गर्दै पछिल्लो समय विश्वव्यापी बहुपक्षीय प्रणाली कमजोर हुँदै गएको बताए। व्यापारिक समूहहरूमा खण्डीकरण बढिरहेको अवस्थामा पोषण, विपद् प्रतिकार्य र स्वच्छ ऊर्जाजस्ता साझा चासोका विषयमा क्षेत्रीय सहकार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने प्रश्न उनले उठाए।
उनले यस्ता सहकार्यलाई औपचारिक संस्थामार्फत सुदृढ गर्नुपर्ने हो वा सरकारहरूबीचको आपसी सद्भाव र समझदारीका आधारमा अघि बढाउनु उपयुक्त हुने हो भन्ने विषयमा पनि जयशङ्करसँग धारणा मागेका थिए।
जवाफमा भारतीय विदेशमन्त्री जयशङ्करले सबै सहकार्यलाई औपचारिक संरचनामा बाँध्नु आवश्यक नहुने बताए। उनका अनुसार, सम्झौता र संस्थागत संरचना निर्माणमा धेरै समय तथा ऊर्जा खर्च हुँदा कतिपय अवस्थामा सहकार्यको मूल उद्देश्य ओझेलमा पर्न सक्छ। खर्चको जिम्मेवारी, सञ्चालन प्रक्रिया र नियमसम्बन्धी विवादले पनि कामलाई जटिल बनाउन सक्छ।
जयशङ्करले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनजस्ता पहललाई औपचारिक संस्थागत स्वरूप दिन सकिने भए पनि कतिपय विषयमा अनौपचारिक सहकार्य बढी व्यावहारिक हुने धारणा राखे।
उनले ब्रिक्सको उदाहरण दिँदै उक्त समूहको आफ्नै सचिवालय र सबै सदस्यले हस्ताक्षर गरेको लिखित बडापत्र नभएको उल्लेख गरे। सहकार्यको स्वरूप विषय, साझेदार र प्रतिबद्धताको स्तरअनुसार निर्धारण हुने उनको भनाइ थियो।
जयशङ्करका अनुसार, पछिल्लो समय भारतले द्विपक्षीय, त्रिपक्षीय, चतुर्भुज तथा समान विचार भएका देशका समूह गरी विभिन्न क्षेत्रमा करिब ५० वटा संयन्त्र विकास गरेको छ। उनले जटिल संरचनाभन्दा कम बोझिलो र परिणाममुखी सहकार्यतर्फ विश्वको अभ्यास उन्मुख भइरहेको बताए।
नेपाल–भारत सम्बन्धमा पोषण, स्वच्छ ऊर्जा र विपद् प्रतिकार्यजस्ता विषयलाई साझा प्राथमिकताका रूपमा अघि बढाउने सम्भावनाबारे भएको यो संवादमा क्षेत्रीय सहकार्यको स्वरूप र त्यसलाई प्रभावकारी बनाउने उपाय मुख्य विषय बनेका थिए।