काठमाडौं– घुँडा सम्बन्धी समस्या भएकाहरुलाई निःशुल्क परामर्श तथा परीक्षणका लागि नेपाल मेडिसिटी अस्पतालले देशव्यापी ‘बृहत स्क्रिनिङ टुर’को आयोजना गर्ने भएको छ।
घुँडा सम्बन्धी समस्याका कारण हिँडडुल गर्न नसक्ने र गुणस्तरीय जीवनयापनबाट विमुख भएकाहरुलाई यसप्रकारको कार्यक्रमले सहयोग पुग्ने अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए।
आफ्नै घर–आँगनमा समस्या पहिचान र विशेषज्ञ चिकित्सकबाट उपचारसमेत हुने भएकोले बिरामीहरु यस कार्यक्रमबाट लाभान्वित हुने आयोजकले विश्वास लिएको छ।
घुँडा दुख्ने, घुँडा बांगिएको, उमेरको कारणले घुँडा खिइएको, बाथ रोगको कारणले घुँडाको समस्या भएका, जोर्नी खिइएका तथा नशा च्यातिएको समस्या र खेल खेल्ने क्रममा घुँडामा चोटपटक लागेका व्यक्तिहरुले कार्यक्रमबाट सेवा लिन सक्ने अस्पतालले जनाएको छ।
नेपाल मेडिसिटी अस्पतालले सहुलियत दरमा जोर्नी प्रत्यारोपणको प्याकेजको समेत व्यवस्था गरेको छ।
काठमाडौंमा केही महिना अघि गरिएको यसप्रकारको शिविरबाट करिब ५ सय जना बिरामीहरुले निःशुल्क परामर्श तथा परीक्षण गराएकोमा ५० जनाको घुँडाको जोर्नीको सफल प्रत्यारोपण गरिएको थियो।
सोही कार्यक्रमलाई निरन्तरता दिँदै देशभर बढी भन्दा बढी बिरामीहरुलाई लाभान्वित गर्ने अस्पतालको योजना रहेको महाप्रबन्धक रिमालले बताए।
अस्पतालका अर्थोपेडिक्स सर्जरी विभागका प्रमुख वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा शिशिर लाखेका अनुसार जोर्नी प्रत्यारोपण गर्दा जोर्नीको बिग्रेको भागलाई निकालेर त्यसको ठाँउमा कृत्रिम जोर्नी राखिन्छ। जुन, धातु र प्लाष्टिकजन्य पदार्थबाट बनेको हुन्छ।
नेपाल मेडिसिटी अस्पतालले ३ लाख ८० हजार रुपैयाँमा शल्यक्रिया, युएस एफडिए इम्प्लान्ट, औषधि र सम्पूर्ण उपचार सामाग्री, ७ दिनको सिंगल क्याबिन, आईसियु, फिजियाथेरापी लगायत सेवाहरुलाई एकै प्याकेजमा उपलब्ध गराएको छ।
यस स्क्रिनिङ्ग टुर हेटौँडा, विरगञ्ज, जनकपुर, धरान, दमक, बुटवल, पोखरा, धनगढी, नेपालगञ्ज लगायतका विभिन्न सहरहरुमा कार्तिक २८ देखि सुरु हुँदैछ।