लोमान्थाङ– ढुंगा र माटोले बनेका अग्ला पर्खालभित्र छ लोमान्थाङ वस्ती। अंग्रेजी एल आकारको उक्त वस्तीमा करिब १ सय २० घर छन्। कात्तिकको दोस्रो साता उक्त वस्तीमा पुग्दा केही घरमा ताला लगाइएको थियो भने केही घरमा ताला लगाइँदै गरेका दृश्य देखिन्थ्यो।
चिसो मौसम सुरु भएका कारण त्यहाँका स्थानीय चिसो छल्न कोही पोखरा, कोही काठमाडौं त कोही तल्लो भेगमा झर्ने क्रम जारी थियो। जडो मौसम सुरु भएदेखि जति–जति तापक्रम तल झर्दै जान्छ त्यति नै लोमान्थाङका स्थानीय पनि तल्लो भेगमा झर्ने क्रम बढ्दै जान्छ।
वस्तीको उत्तरतर्फ छेउमा रहेको सानो एकतले घर भने बाह्रैमास खुला रहन्छ। सानो ढुंगे पर्खालले छेकिएको उक्त एकतले भवन हो, लोमान्थाङबासीको उपचारको भरोसाको केन्द्र अर्थात् लोमान्थाङ स्वास्थ्य चौकी। र, उक्त स्वास्थ्य चौकीमा बिरामी कुरिरहेको भेटिन्छिन्, नर्स (एक्जुलरी नर्स मिडवाइफ) पेमा डोमा गुरुङ।
स्वास्थ्यखबरको टोली पुग्दा उनी कार्यालय सहयोगीसँग बिरामीको प्रतीक्षामा थिइन्। दसैंपछिको समय भएका कारण स्वास्थ्य चौकीका अन्य कर्मचारी भने पर्व बिदामा थिए। दसैं मनाउन घर गएका अन्य कर्मचारी तिहार मनाएर मात्र फर्कने भएकाले बिरामीको उपचारका लागि उनी एक्लै खटिइरहेकी थिइन्।
लोमान्थाङकै स्थानीय हुन् पेमा। आफ्नै गाँउ–ठाउँका बिरामीको सेवा गर्न उनले त्यहाँ काम गर्न रोजेकी हुन्। भन्छिन्, ‘अन्यत्र सहरी क्षेत्र र सुविधासम्पन्न क्षेत्रमा काम गर्नुभन्दा आफ्नै गाउँमा काम गर्नुको खुसी नै बेग्लै हुन्छ।’ उनी आफूले काम गरेको देखेपछि गाँउका अरुले पनि छोराछोरीलाई राम्रो पढाउनुपर्छ भन्ने सन्देशसमेत गएको बताउँछिन्।
चिसो बढ्दै गएपछि स्वास्थ्य चौकीमा आउने बिरामीको संख्या पनि कम हुने उनले बताइन्। ‘गाउँका अधिकांश मानिस चिसो छल्न बाहिर जाने हुँदा यहाँ त बुढाबुढी र थोरै मानिस मात्र हुन्छन्,’ उनले भनिन्, ‘त्यही भएर जाडोभरि स्वास्थ्य चौकीमा फाट्टफुट्ट मात्र बिरामी आउँछन्।’
उनले काम गर्न थालेको माघमा तीन वर्ष पुग्दैछ। हालसम्मको अनुभवमा चिसो मौसममा उनी कार्यरत स्वास्थ्यचौकीमा कुनै दिन त एक जना पनि बिरामी आउँदैनन्। अन्य समयमा दैनिक औसतमा १० जनाभन्दा बढी बिरामी उपचारका लागि आउँछन्। वर्षाको समयमा त दैनिक ५० जनासम्म पनि उपचारका लागि आउने गरेको उनले जानकारी दिइन्।
‘जाडोमा त कुनै दिन एक जना पनि बिरामी आउँदैनन्। तर, गर्मीमा भने सडक निर्माण तथा अन्य कामदारको चाप हुने भएकाले बिरामीको चाप पनि बढी हुन्छ,’ उनी भन्छिन्, ‘जाडोमा बिरामी नै नआउने भए पनि जुनसुकै बेलामा पनि आकस्मिक अवस्थामा बिरामी आउनसक्ने भएकाले हामी सतर्क भएर कार्यालयमा नै बसेका हुन्छौं।’
स्वास्थ्य चौकीमा हाडजोर्नी दुख्ने, ग्यास्ट्रिक, ढाड दुख्ने, दाँत दुख्ने समस्या लिएर धेरै बिरामी उपचारका लागि आउने गरेको उनले जानकारी दिइन्। वर्षातको समयमा भने कमदारहरु विभिन्न दुर्घटनामा परेर पनि उपचारका लागि आउने गरेको उनी बताउँछिन्।
हिँउ परेको समयको लाेमान्थाङ
पेमाले सुरक्षित प्रसूतिसम्बन्धी तालिमसमेत लिएकी छिन्। स्वास्थ्य चौकीलाई सुरक्षित सुत्केरी गराउने संस्था (बर्थिङ सेन्टर) को रुपमा घोषणासमेत गरिएको छ। तर, बर्थिङ सेन्टरका लागि आवश्यक कोठा, जनशक्ति र अन्य सेवा–सुविधा दिइएको छैन।
‘घोषणा मात्र गरेर हुँदैन, त्यहीअनुसारको सेवा–सुविधा पनि हुनुपर्छ,’ उनले भनिन्, ‘मैले तालिम त लिएको छु। तर उक्त तालिमलाई सदुपयोग गर्नसक्ने अवस्था भने यहाँ छैन।’
उनका अनुसार स्वास्थ्य चौकीमा त्यहीँका स्थानीय महिलासहित अन्य गाउँका महिला पनि गर्भ जाँचका लागि नियमित रुपमा आउने गरेका छन्। अन्यत्र गाउँबाट उनीकहाँ आउनुको कारण भने आफू महिला भएकाले हुनसक्ने उनी बताउँछिन्।
‘गर्भ जाँचका लागि अन्यत्रबाट पनि यहाँ आउँछन्, उता स्वास्थ्य चौकी भए पनि त्यहाँ महिला स्टाफ नभएका कारण यहाँ आएको हुनसक्छ,’ उनले भनिन्, ‘गाउँका महिलाहरु महिला स्टाफसँग नै जाँच गराउन सहज मान्छन्।’
गर्भजाँचका लागि आउने महिला सुत्केरी हुन भने जोमसोम, पोखरा तथा काठमाडौं जाने गरेको उनी बताउँछिन्। उनका अनुसार स्वास्थ्य चौकीमा पर्याप्त सेवा–सुविधा नभएका कारण महिलाहरु जोखिम लिएर स्वास्थ्य चौकीमा सुत्केरी हुँदैनन्। हालसम्म उनले घरमा नै जम्मा ४ जनालाई सुरक्षित सुत्केरी गराएकी छिन्। मानिसमा चेतना बढ्दै गएकाले सुरक्षित सुत्केरी हुन अस्पताल जाने क्रम बढेकोमा उनी खुसी व्यक्ति गर्छिन्।
उनी स्वास्थ्य चौकीलाई विस्तार गरेर सुरक्षित सुत्केरी हुने संस्था बनाउनुपर्ने काम तत्कालै अगाडि बढाउनुपर्नेमा जोड दिन्छिन्। ‘यति गर्न सकियो भने सुत्केरी हुनैका लागि काठमाडौं, पोखरा तथा जोमसोम जानुपर्ने बाध्यताको अन्त्य हुनेथियो।’