काठमाडौं- संघीय संसद्को हिउँदे अधिवेशन पुस ११ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रपति भण्डारीले संघीय संसद्को तेस्रो अधिवेशनको पहिलो बैठक पुस ११ गते अपराह्न ४ बजेका लागि डाकेकी छन्।
राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र मंगलबार संसद् सचिवालयमा दर्ता भएको छ। सचिवालयले संसद् बैठक तयारी सुरु गरिसकेको जानकारी दिएको छ। बैठकबारे बुधबार सूचना जारी गर्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।
संविधानसँग बाझिएका ३ सय ३९ कानुनमध्ये १ सय ७४ वटा संसद्ले परिमार्जन गर्न बाँकी छ। परिमार्जन गर्नुपर्ने १ सय ७४ मध्ये पनि ३६ वटा पूर्ण रुपमा नयाँ कानुन बनाउनुपर्नेछ। कानुनलगायतका विभिन्न मन्त्रालयले ती कानुनहरूको तयारी गरिरहेका छन्।
संसदले केही कानुन तत्काल निर्माण तथा अनुमोदन गर्नुपर्ने अवस्था छ। चिकित्सा शिक्षा अध्यादेश तत्काल पारित गर्नुपर्ने भन्दै डा गोविन्द केसीले पुस १७ गतेदेखि अनसन बस्ने घोषणा गरिसकेका छन्। डा केसीको अनसन सुरु हुनुभन्दा पहिले नै सरकारले संसदको हिउँदे अधिवेशन आह्वान गरेको हो।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले पहिलो बैठकमा नै डा केसीसँग सरकारले गरेको सम्झौता अनुसारकै विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ। समितिले यसका लागि आवश्यक कम अगाडि बढाइसकेको बताइएको छ।