डडेलधुरा– डडेलधुराको नवदुर्गा गाउँपालिकाले सञ्चालन गरिरहेको एकीकृत निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिका अध्यक्ष कविन्द्र विष्ट आफैं बिरामीको उपचारमा खटिएका छन्।
लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेका विष्टले आफ्नो अनुभवलाई स्वास्थ्य शिविरमा स्थानीयको उपचारमा सदुपयोग गरेका हुन्। शिविरमा उनले अधिकतम रुपमा स्थानीयको उपचारमै समय खर्चिएका छन्। ‘गाउँपालिकाले ५ वटै वडामा शिविर आयोजना गरेको छ।’, विष्टले भने, ‘सकेसम्म पाँचै क्षेत्रमा पुगेर बिरामीहरूको उपचारमा बढीभन्दा बढी समय दिइरहेको छु।’
२४ वर्षसम्म डडेलधुराको स्वास्थ्य क्षेत्रमा सिनियर अहेवको रूपमा काम गरेका विष्टले स्थानीयको सेवाका लागि नै निर्वाचित भएकोले फरक ढंगबाट भएपनि नागरिककै सेवामा संलग्न भएको प्रतिक्रिया दिए। ‘विगत २४ वर्ष स्वास्थ्य क्षेत्रमै रहेर काम गरें’, उनले भने, ‘त्यही अनुभवका आधारमा यहाँका जनतालाई स्वास्थ्य सेवा दिइरहको छु। मप्रति यहाँका नागरिकको विश्वास छ, राम्रो सेवा दिन्छ भनेर।’
उनले ग्रामीण क्षेत्रका नागरिकलाई गाउँस्तरमै सेवा दिने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको प्रष्ट पारे।
शिविरमा साधारण स्वास्थ्य परीक्षण तथा उपचार, जेष्ठ नागरिकका लागि निःशुल्क आँखा जाँच तथा उपचार, पाठेघर खसेका महिलाहरूका लागि जाँच, रिङपेसरी राख्ने तथा प्रेषण, दन्त उपचार, प्रयोगशाला, फार्मेसी, युएसजी (भिडियो एक्सरे)लगायतका सेवा गाउँपालिकाले दिइरहेको छ।
पहाडी जिल्लाका महिलाहरूमा पाठेघर खस्ने समस्या बढी हुने गरेकामा यस शिविरमा पनि बढी मात्रामा पाठेघर खस्ने, सेतो पानी बग्ने समस्या भएका महिलाहरू उपचारका लागि आएको उपक्षेत्रीय अस्पताल डडेलधुराका डा दिनेश उपाध्यायले बताए। यस्तै, ज्येष्ठ नागरिकहरूमा उच्च रक्तचाप, स्वासप्रश्वास, मधुमेह र आँखाको समस्या बढी देखिएको उनको भनाइ छ।
निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि गाउँपालिकाका स्थानीय नागरिक खुसी भएका छन्। सानोतिनो बिरामी भएपनि सदरमुकामका अस्पताल धाउनुपर्ने बाध्यता रहने गरेकामा अहिले शिविर सञ्चालन भएपछि आफूहरूले घर नजिकै सेवा पाएको सेवाग्राही नवदुर्गा–१ निन्तोलाका कमलसिंह रैकालले बताए।
पहिलो दिन मंगलबार नवदुर्गा गाउँपालिका–१ मा रहेको कोटेली स्वास्थ्य चौकीमा निःशुल्क शिविर सञ्चालन गरिएको छ। बुधबार पनि कोटेली स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। पहिलो दिन ३ सय जनाले सेवा लिएका छन्।
मंगलबारदेखि सुरु भएको निःशुल्क स्वास्थ शिविर प्रत्येक वडामा २ दिन सञ्चालन गरिने अध्यक्ष विष्टले बताए। पुस १९सम्म चल्ने शिविरमा ५ हजार बढी स्थानीयले उपचार सेवा लिने गाउँपालिकाले जनाएको छ।
गत वर्ष पनि गाउँपालिकाले एकीकृत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। उक्त शिविरमा गाउँपालिकाभित्रका ३ हजार बढी नागरिकले सेवा लिएका थिए।