जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल अधिकृत र विशेषज्ञ चिकित्सकलाई कर्णाली प्रदेशमै पहिलो पटक प्राथमिक आघात हेरविचार प्रशिक्षण दिइएको छ । पाटन अस्पतालका डा. सञ्जय पौडेलको नेतृत्वको टोली जुम्ला पुगेर तिन दिनको प्रशिक्षण दिएको हो । कर्णाली अस्पतालमा सेवा सुविधा बढ्दै गएको र यहाँका चिकित्सकले हासिल गरेका सैद्धान्तिक ज्ञानलाइए व्यवहारमा उतार्न र आकस्मिक रुपमा हुने घटनामा बिरामीको उपचार गर्न सक्षम बनाउने प्रशिक्षण दिइएको बताइएको छ।
कर्णाली अस्पतालका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले भने, ‘पछिल्लो समयमा सडक सवारी दुर्घटना र हवाई दुर्घटना बढेका छन् । आपतकालिन अवस्थामा आउने विपतका घटनाका बिरामीलाई छिटोछरितो रुपमा उपचार गर्न सकियोस् भनेर प्रशिक्षण कार्यक्रम गरिएको हो।’
उनका अनुसार पेट, छातीमा समस्या भएका बिरामी र सवारी दुर्घटनामा गरेका बिरामीको ज्यान कसरी जोगाउने, हातखुट्टाको उपचार कसरी गर्ने र अपाङ्ग हुनबाट कसरी बचाउने भन्ने बिषयमा सहजीकरण भएको छ ।
प्रकोप विपतमा ज्यान खतरामा भए÷नभएको पहिचान गर्ने र तुरुन्त उपचार गर्ने विधि सिकाइएको छ । कर्णाली अस्पतालमा मेडिकल अधिकृत र विशेषज्ञ चिकित्सक गरेर २७ जनाले प्रशिक्षण लिएका हुन्। कर्णालीमा पहिलोपटक आयोजना गरिएको यो तालिमले यहाँ हुने घटना दुर्घटनामा आउने बिरामीको उपचारमा सजिलोपना ल्याउने भएको छ । स्वास्थ्य क्षेत्रमा लागेको जनशक्तिलाई शसक्त बनाउदै विपद प्रकोपका बेला सयमित भएर काम गर्न मद्दत पुगेको छ । यसअघि नेपालगंज, पाटन अस्पतालमा यो प्रकारको प्रशिक्षण दिईसकेको छ।
कर्णालीमा भइरहेको यो प्रकारको प्रशिक्षणले चिकित्सकलाई उपचार निकै ठूलो सहयोग पुगेको चिकित्सकहरु बताउँछन् । पहिले पढेको तर विर्षिएको कुरालाई यो तालिमले नवीकरण गराएको छ । अस्पतालमा डेमोको प्रयोग गरेर उपचार प्रक्रियाका वारेमा देखाइएको थियो । तालिममा सैद्धान्तिक संगै ब्यवहारिक अभ्यास पनि गराइएको थियो।
पहिले सामान्य बिरामी नहुने कर्णालीका अस्पतालमा जटिल प्रकारका रोगको उपचार हुँदै आएको छ। यहाँका बिरामीले राजेरै चिकित्सकबाट उपचार गर्न पाउँछन् । अस्पतालका सेवालाई प्रभावकारी र छिटोछरितो बनाउन पछिल्लो समयमा विभिन्न कार्यक्रमहरु हँुदै आएका छन्। यहाँ अहिले मुगु, कालिकोट, डोल्पा र जाजरकोट देखि बिरामी उपचार गराउदै आएका छन् । कहिलेकाहिँ हुम्लाबाट हेलिकप्टरवाट आउने बिरामीको उपचार समेत जुम्ला अस्पतामै हुन्छ।