लहान– उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आज बिहान सिरहाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालको निरीक्षण गरेका छन्। बिहान ८ बजेतिर अस्पताल पुगेका उपप्रधानमन्त्री यादवले अस्पतालको निरीक्षणपश्चात् अस्पताल व्यवस्थापनलाई निर्देशन दिँदै अस्पताललाई सुविधासम्पन्न ‘सेकेण्डरी’ तहको अस्पताल बनाउने घोषणा गरेका छन्।
अस्पतालमा कमी रहेको विशेषज्ञ चिकित्सक, दक्ष जनशक्ति र भौतिक उपकरण छिट्टै पठाउने आश्वास दिनुहुँदै अब श्ययाका आधारमा नभई तहका आधारमा अस्पताललाई वर्गीकरण गरिने जानकारी दिए। अब स्पतालहरू ‘प्राइमरी’, ‘सेकेण्डरी’ र ‘ट्रोसियल’ गरी तीन तहमा वर्गीकरण गरी सोही अनुसारको अस्पतालहरूको विस्तार गरिने उहाँको कथन थियो । अस्पतालमा देखिएका कमीकमजोरीलाई तत्काल सुधार गरी जनतालाई भरपर्दाे र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न उहाँले अस्पताल प्रशासनलाई निर्देशनसमेत दिए।
अस्पताल निरीक्षणका क्रममा अस्पतालका मेसु डा सुनिलकुमार कुशवाहाले अस्पतालको अवस्था र जनशक्तिबारे उपप्रधानमन्त्री यादवलाई जानकारी गराए।
यस्तै उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले आजै बिहान लहान नगरपालिका–३ मा स्थापना हुने बाल अस्पताल जग्गाको समेत स्थलगत निरीक्षण गरे। । रासस