काठमाडौं— स्वास्थ्य मन्त्रालयका ११ पेसागत संगठन तथा ट्रेड युनियनका पदाधिकारीले कर्मचारी समायोजनमा गम्भीर ध्यानाकर्षण भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
स्वास्थ्य मन्त्रालयमा आज स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले कर्मचारी समायोजन अध्यादेश २०७५ स्वास्थ्यका कर्मचारीका लागि विभेदकारी रहेको बताए।
ध्यानाकर्षण पत्रमा सरकारद्वारा २०७५ मंसिर २३ गते राजपत्रमा प्रकाशित समायोजन अध्यादेश २०७५ ले स्वास्थ्यका तहगत रुपमा कार्यरत कर्मचारीलाई प्रशासन सेवाका कर्मचारीसरह व्यवहार नगरेको जनाइएको छ।
यस्तै स्वास्थ्य मन्त्रालयबाट सिफारित भई मन्त्रिपरिषद्बाट पारित भइआएको दरबन्दी संरचना कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा ३ को उपदफा ५ बमोजिम तहगत सिर्जना गर्नुपर्नेमा सोअनुसार नभई श्रेणीगत दरबन्दी पेस भएकोले सबै पेसागत संघ–संगठन र ट्रेड युनियनको असहमति भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
आफ्ना चार बुँदे माग सम्बोधन नभएसम्म सम्पूर्ण स्वास्थ्यकर्मी समायोजन ऐनमा सहभागी हुन नसक्ने चेतावनी पनि उनीहरुले दिएका छन्।
सरकारी चिकित्सक संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल नर्सिङ संघ, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, मधेसी स्वास्थ्यकर्मी फोरम, स्वास्थ्यकर्मी युनियन नेपाल र नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनले ध्यानाकर्षण पत्र बुझाएका हुन्।
