पोखरा– विगतका दिनमा पोखरा महानगरपालिका–८ का विद्यालायहरुमा पढ्ने छात्राहरूले महिनावारीको समयमा निकै समस्या भोग्नुपर्थ्यो।
विद्यालय गएकै समयमा रजस्वला हुने र त्यहाँ सेनेटरी प्याड उपलब्ध नहुँदा छात्राहरू गयल हुने गर्थे। कतिपय छात्राले त पढ्न नै छाडिदिन्थे।
‘विद्यालयमा मिन्स हुन्थ्यो। लगाउने प्याड नहुँदा साह्रै सास्ती भोग्नुपर्थ्याो,’ कक्षा ९ मा अध्ययनरत एक छात्राले भनिन्, ‘त्यही समस्याकै कारण मेरै कति साथी महिनामा ४/५ दिन आउँदैनथे। कतिले पढ्नै छोडे।’
यहाँका निजी तथा सरकारी विद्यालयमा अध्ययन गर्ने छात्राहरुले भने अबदेखि उक्त समस्या भोग्नुपर्ने छैन।
पोखरा–८ का सबै शैक्षिक संस्थालाई शुक्रबार सेनेटरी प्याडयुक्त घोषणा गरिएको छ। घोषणा भएसँगै अब विद्यालय गएका छात्राहरूले महिनावारीको समयमा सेनेटरी पाउने भएका हुन्।
महानगरपालिकाले विद्यालयमा सेनेटरी प्याड नहुँदा छात्राहरुले समस्या भोग्नु परेको र विद्यालय समेत छाडने क्रम बढेको भन्दै महानगरभित्रका शैक्षिक संस्थालाई सेनेटरी प्याडयुक्त बनाउने अभियान चलाइरहेको छ।
त्यही अभियानकै क्रममा वडा ८ लाई सेनेटरी प्याडयुक्त घोषणा गरिएको हो।
पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले वडाभित्र सञ्चालित २ सरकारी र १६ निजी विद्यालयलाई प्याड युक्त घोषणा गरेकी हुन्।
उपप्रमुख गुरुङले नेपालमा अझै पनि धार्मिक, सांस्कृतिक र सामाजिक रुपमा नकरात्मक रुपमा लिने गरिएको बताइन्। उनले भनिन्, ‘रजस्वला प्राकृतिक नियम हो, त्यसैले यसलाई नकरात्मक दृष्टिले हैन सकरात्मक रुपमा लिनुपर्छ।’
सेनेटरी प्याडयुक्त अभियानकी अभियन्ता सुष्मा पौडेलले पहिले कास्कीका सम्पूर्ण विद्यालयलाई सेनेटरी प्याडयूक्त बनाउने अभियान सुरु गरेको र पछि महानगरले पनि साथ दिएको सुनाइन्।
‘सबै विद्यालका शौचालयमा प्याड व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै आएका छौँ। अहिले अभियान सफल हुने क्रममा छ,’ उनले भनिन्, ‘प्याडसहित विद्यालयले सफा शौचालय, खानेपानीको समेत व्यवस्था गनुपर्छ।’
सेनेटरी प्याडयुक्त शैक्षिक संस्था अभियानले वडाभित्र रहेका सबै विद्यालयलाई सेनेटरी प्याड राख्ने बक्सा,सेनेटरी प्याड, साबुन लगायतका सामग्री उपलब्ध गराएको छ।