काठमाडौं– संघीय संरचना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई ओझेलमा पारिएको भन्दै तीन वटा संगठनले विरोध गरेका छन्।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रका नेपाल आयुर्वेद चिकित्सक संघ, सिभिल आयुर्वेद चिकित्सक संघ र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले संयुक्त रुपमा ९ बुँदे माग राखेका छन्। उनीहरुले स्वास्थ्य सेवाको वर्तमान पुनःसंरचित दरवन्दी संरचनामा आयुर्वेद क्षेत्र र जडिबुटीको महत्वलाई नजरअन्दाज गरिएको भन्दै ध्यानाकर्षण गरेका हुन्।
तीनवटै संगठनले संयुक्त रुपमा ९ बुँदे माग स्वास्थ्य सचिवलाई समेत बुझाएका छन्। उनीहरुले सबै स्थानिय तहमा कम्तीमा एक वटा दरवन्दी सृजना गर्नुपर्ने, सबै जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने, प्रदेश संरचनामा कामकाज गर्न खटाइएका कविराज ५/६/७ तहको दरवन्दी काटिएकाले पुन कायम गर्नुपर्ने, प्रदेश स्वास्थ्य निर्देशनालयमा ८ औँ तहको आयुर्वेद चिकित्सकको दरवन्दी थप गर्नुपर्ने लगायतका माग राखेका छन्।

