धनगढी– बिरामीलाई उपचार गर्ने अस्पताल सफासुग्घर र स्वस्थ हुनुपर्छ। अस्पतामा रहेको क्यान्टिको खाना पनि स्वच्छ र स्वस्थकर नै हुनुपर्छ। तर, यहाँका क्यान्टिन नै दुर्गन्धित भेटिएका छन्।
उपचार गर्न अस्पताल पुगेका बिरामी नै अस्वस्थकर खानेकुरा खान बाध्य भएका छन्। आइतबार धनगढीका अस्पतालमा रहेका क्यान्टिनमा गरेको अनुगमनमा यस्तो फेला परेको हो।
संयुक्त बजार अनुगमन टोलीले गरेको नियमित बजार अनुगमनले अस्पतालका क्यान्टिन अव्यवस्थित रहेको टोलीका संयोजक तथा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालका खाद्य अनुसन्धान अधिकृत दिपक कुँवरले बताए।
‘क्यान्टिनको सरसफाइमा ध्यान नदिएको पाइयो’, उनले भने, ‘पहिलो पटक अनुगमन गरेकाले सुधार गर्न निर्देशन दिएका छौँ। दोस्रो पटक आउँदा पनि सुधार नगरेको भेटिए बन्द गराउने छौँ।’
अनुगमनमा खाना खान प्रयोग हुने अचारहरू पनि बासी प्रयोग गर्ने गरेको भेटिएको थियो।
साँघुरो ठाउँमा सञ्चालित क्यान्टिनमा भान्सा र भाँडा धुने ठाउँ दुवै एकै स्थानमा भएकाले अस्तव्यस्त देखिएको कुँबरले बताए । ‘सरकारी अस्पतालमा नै मूल्यसूची राखेको छैन। पकाउने भान्सा पनि दुर्ग भेटियो,’ उनले भने।
धनगढी चटकपुरमा सञ्चालित माया मेट्रो अस्पतालमा समेत क्यान्टिनको अवस्था दुर्गन्धित रहेको अनुगमनका क्रममा भेटिएको छ। बाहिर हेर्दा सफा देखिए पनि बिरामीले खाना, खाजा खाने क्यान्टिन भने फोहर रहेको टोलीले जनाएको छ।
चटकपुरमा नै सञ्चालित सीपी अस्पतलामा पनि क्यान्टिन सही ढंगले सञ्चालन नहुँदा बिरामीले गुणस्तरीय खाना खान पाएका छैनन्। कुँबरले पहिलो दिन भएकाले सफा गर्न निर्देशन दिँदै खाना पकाउने कलर मात्र जफत गरेको बताए। क्यान्टिन सञ्चालन गर्दा घरेलुमा दर्ता गर्नु पर्ने भए पनि कसैले नगरेको घरेलु तथा साना उद्योग कार्यालयका नासु सुजन श्रेष्ठले बताए।