जुम्ला– कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुर्खेतमा सार्न लागिएको भन्दै गरिएको हल्ला निराधार भएको बताएका छन्। उनले यो प्रतिष्ठान कर्णालीकै गौरव भएको बताउँदै जुम्लालाई स्वास्थ्य क्षेत्रको हब बनाउनको लागि प्रदेश सरकार प्रतिबद्ध भएको बताए।
नेकपाको कालिकोटस्थित भेलालाई सम्बोधन गर्न जाने क्रममा जुम्ला आएका मन्त्री ज्वालाले प्रतिष्ठानप्रति कुनै 'कन्फयुज' नहुन आग्रह गरे। उनले भने, 'कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीवासीका लागि गौरव गर्न लायक योजना हो, यो जुम्लाबाट कतै पनि सर्दैन, बरु स्रोतका लागि केन्द्रमा पहल थाल्छौं।'
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेतलाई जोड्छौँ, कुनै पनि स्वास्थ्य शिक्षाको अध्ययन जुम्लामा गराउँछौँ, अभ्यास प्रदेश अस्पतालमा गराउने गरी तयारी थाल्दैछौं' आथिक मामिला मन्त्री ज्वालाले भने, 'कर्णाली प्रदेशलाई स्वास्थ्य पर्यटनको हब बनाउछौँ।' कर्णाली प्रदेश सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बलियो बनाउदै यहाँका आम नागरिकलाई स्वास्थ्य सुलभ र प्रभावकारी बनाउँदै लैजाने बताए।
कर्णालीमा सबै जिल्लामा स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको उनले बताए। भने, 'कर्णालीमै उत्पादन हुने जनशक्तिले कर्णालीको सेवा गर्ने र औषधि उपचारमा सहजता ल्याउन पहल हुने छ।'
अहिले कर्णाली प्रतिष्ठान जुम्लामा एचए, स्टाफ नर्स, अहेब पढाइ सञ्चालन हुनुका साथै एमडिजिपी पढाइको लागि तयारी भइरहेको छ।