जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाले सुरक्षित मातृत्वको लागि न्यानो झोला उपलव्ध गराएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी हुन आउने आमा र शिशुको स्वास्थ्य अवस्थालाई मजबुद बनाउन न्यानो झोला र ब्ल्याङकेट उपलव्ध गराइएको हो।
चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले प्रतिष्ठानका प्रशासकिय अधिकृत द्धन्द्धबहादुर शाहीलाई सुरक्षित मातृत्वको सामाग्री हस्तान्तरण गरेकी हुन।
उनका अनुसार २ सय ५० थान न्यानो झोला र २ सय ५० थान ब्लाङकेट उपलब्ध गरिएको हो । सुत्केरी हुन नजिकैको स्वास्थ्य संस्था तथा अस्पतालमा आउनको लागि प्रेरित गर्ने हेतुले यो कामको थालनी गरिएको मेयर सेजुवालले बताईन्।
उनले भनिन्, ‘अहिले नगरपालिका क्षेत्रका ३२ प्रतिशत महिला मात्रै स्वास्थ्य संस्थामा सुत्केरी गराउने गरेको तथ्यांकमा देखिएको छ, अब शतप्रतिशत महिला स्वास्थ्य संस्थामै सुत्केरी गराउन आउनु पर्ने अवस्थाको सिर्जना गर्दैछौँ।’
स्थानीय सरकार भएकोले मातृमृत्युदर र बालमृत्युदरलाई घटाउँदै लैजाने अभियान नगरपालिकाले थालेको छ।
अहिलेसम्म प्रविधि तर्फ तीन लाख र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने आमाको यातायात खर्चको लागि ३० लाख रुपैया उपलव्ध गराईसकिएको छ। ‘स्वास्थ्य क्षेत्र निकै संवेदनशिल छ,अहिले सुरक्षित मातृत्व केन्द्रित कार्यक्रम बनाएका छौँ,’ मेयर सेजुवालले भनिन्, ‘शतप्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा हुने बातावरण बनाउँछौँ।’ पहिलो गर्भ जाँचदेखि सुत्केरी भएको ४२ दिन सम्म गर्नु पर्ने स्याहारका बारेमा सवैलाई जिम्मेवार बनाउदै आमा र बच्चाको स्वास्थ्य अवस्थालाई मध्येनजर गरि स्वास्थ्य क्षेत्रका कार्यक्रम अघि बढेका छन्।
नगरपालिका भित्रै बर्थिङ सेन्टर सञ्चालनमा आईसकेको छ। त्यसलाई प्रभावकारी बनाउँदै कुनै पनि आमा घरमै सुत्केरी हुन नदिनको लागि सचेतनाका क्रियाकलाप अघि बढाईने छ। आगामी दिनमा न्यानो झोला र ब्लाङकेट नगरपालिका भित्रै बनाउने गरि काम थालिएको छ। यो कामको थालनीले यहाँका स्थानीयले रोजगारी पाउनुका साथै स्वास्थ्यमा गम्भीर बन्न सिकाउने छन्।
प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाईले लोककल्याणकारी कामका लागि नगरपालिका हर बखत तयारी हालतमा बस्ने बताए। उनले भने, ‘शिक्षा, स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा संवेदनशिल भएर लाग्ने छौँ।’ नगरपालिका भित्र नमुना स्वास्थ्य कार्यक्रम बनाएर अघि बढ्ने नगरपालिकाले जनाएको छ।
कर्णाली प्रतिष्ठानका प्रमुख प्रशासकिय अधिकृत द्धन्द्धबहादुर शाहीले नगरपालिकाले आमा र बच्चाको स्वास्थ्यमा गरेको चिन्ता सरायिन रहेको बताए। उनले भने, ‘आगामी दिनमा प्रतिष्ठान र नगरपालिका बीचको समन्वयले यहाँको स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्ने देखिएको छ।’