काठमाडौं- सरकारले डाक्टर र स्वास्थ्यकर्मीलाई मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता गर्न नपर्ने नियम लागू गर्ने भएको छ। आन्तरिक राजस्व विभागले परिपत्र जारी गर्दै डाक्टर तथा स्वास्थ्यकर्मीलाई भ्याट छुट हुने कुरा सार्वजनिक गरेको हो।
विभागले पुस १५ गते स्वास्थ्य सेवालाई भ्याट छुट हुने वस्तु तथा सेवामा समावेश गरेको हुँदा सरकारले तोकेको सम्बन्धित परिषदमा दर्ता भएको चिकित्सक र स्वास्थ्यकर्मीलाई भ्याट छुट दिने निर्णय गरेको हो।
विगतमा पनि डाक्टर तथा स्वास्थ्यकर्मीले भ्याटमा दर्ता हुनुपर्ने नियम थिएन। तर केही समयपहिले सरकारले डाक्टर र स्वास्थ्यकर्मीलाई पनि अनिवार्य रुपमा भ्याटमा दर्ता गर्नुपर्ने बाध्यकारी नियम ल्याएको थियो।
उक्त व्यवस्थाको नेपाल चिकित्सक संघले विरोध गर्दै आइरहेको थियो। संघले स्वास्थ्य क्षेत्रमा बिरामीबाट उठाइने ५ प्रतिशत कर हटाइसकिएको अवस्थामा चिकित्सक र स्वास्थ्यसंस्थाले भ्याटमा दर्ता हुनुपर्ने नियम अवैज्ञानिक रहेको भन्दै खारेजीको माग गरेको थियो।
संघले अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागसँगसमेत छलफल गरेर समाधानकाे माग गरे पनि कुनै पनि निकास नआएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएको थियो। सोही माग अनुसार विभागले नयाँ निर्णय गरेको हो।
भ्याट खारेजीको निर्णय स्वागतयोग्य भएको संघका महासचिव डा लोचन कार्कीले बताए। उनले यो निर्णयले बिरामीमा थप हुनसक्ने शुल्कको भार कम भएको जानकारी दिए।
यस्तो छ भ्याट छुटको निर्णयको पत्र
