काठमाडौं– संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा चिकित्सा शिक्षा विधेयकको विषयमा सहमति जुट्न सकेन।
डा गोविन्द केसीसँग सरकारले गरेको सहमति अनुसारकै विधेयक ल्याउने विषयमा सत्तापक्ष सांसदले नमानेपछि विधेयकको प्रतिवेदन बनाउने विषयमा सहमति नजुटेको हो। प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले भने डा केसीसँगको सहमति अनुसारकै विधेयक हुवहु आउनु पर्ने बताएका छन्।
छलफलमा सहमति नजुटेपछि उपसमितिलाई छिटो सहमति जुटाएर प्रतिवेदन बुझाउन समितिले निर्देशन दिएको छ। समितिले चिकित्सा शिक्षा विधेयकको विषयलाई छिटो भन्दा छिटो सहमतिमा ल्याएर टुंग्याउन निर्देशन दिएको हो।
उपसमितिको बैठक शुक्रबार बस्ने छ।
उपसमितिको छलफलमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतका स्वास्थ्यका कार्यक्रम फेज आउट गर्ने र उपत्यका बाहिर मेडिकल कलेज खोल्ने विषयमा सहमति जुट्न नसकेको हो।
सरकारले गरेको सहमित विपरितको विधेयक मान्य नहुने भन्दै डा केसी अनसन बस्न इलाम पुगेका छन्। डा केसीलाई तत्कालै अनसन सुरु नगर्न सांसदहरुले आग्रह गरेका छन्। सांसदहरुले सहमति जुटाउने प्रयास भइरहेको भन्दै इलामबाट फिर्ता हुन पनि आग्रह गरेका छन्।
उपसमितिले तयार पारेको प्रतिवेदनको मस्यौदा






