काठमाडौं – वीर अस्पतालमा अत्याधुनिक क्षमताको तीन वटा एम्बुलेन्स ल्याइएको छ। आकस्मिक अवस्थाका बिरामीलाई एम्बुलेन्समा नै उपचार सेवा दिन अस्पतालले ‘ए’ श्रेणीको एम्बुलेन्स खरिद गरेको हो।
अस्पतालका निमित्त निर्देशक डा भुपेन्द्रकुमार बस्नेतका अनुसार उक्त एम्बुलेन्सभित्र आइसियु र शल्यक्रिया कक्षमा हुने धेरै सुविधा छ। ‘मिनि आइसियु र आटी क्षमता भएको एम्बुलेन्स भन्दा फरक पर्दैन,’ उनले भने, ‘आकस्मिक अवस्थामा रहेका धेरै बिरामी अस्पताल ल्याउने क्रममा नै मृत्यु हुने गरेको छ। यो एम्बुलेन्सले त्यस्तो मृत्यु र बिरामीको जोखिमलाई कम गर्न मद्धत गर्छ।’
अस्पतालले एक करोड २० लाखमा तीनवटा एम्बुलेन्स खरिद गरेर ल्याएको हो। यसअघि अस्पतालमा अन्य तीनवटा सामान्य एम्बुलेन्स थिए।

अस्पतालले एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ अनुसार ए श्रेणीको एम्बुलेन्स ल्याएको हो। निर्देशिका अनुसार जीवनरक्षाका लागि अत्यावश्यक सेवा सुविधा भएका एम्बुलेन्सलाई ए श्रेणीमा, आधारभूत सुविधा भएको एम्बुलेन्सलाई बि श्रेणी र सामान्य सुविधा भएकोलाई सी श्रेणीमा राखिएको छ।
ए श्रेणीको एम्बुलेन्स खासगरी मुटुका रोगी, दुर्घटनामा परेका र गम्भिर जोखिममा रहेका बिरामीहरूका लागि आवश्यक हुन्छ । निर्देशिका अनुसार यस्तो एम्बुलेन्समा यस्तो एम्बुलेन्समा अत्यावश्यक उपकरण र औषधी मात्रै नभई चिकित्सक वा तालिमप्राप्त स्वास्थ्य कमी पनि उपलब्ध हुनुपर्ने छ ।
यसका साथै एम्बुलेन्समा औषधी र उपकरणसहित एड्भान्स लाइफ सर्पोटका लागि ईसीजी, कार्डियाक मोनिटर, डेफिब्रिलेटर, इन्क्युवेसन साधन, भेन्टिलेटर, नेबुलाइजर, हेड इमोबिलाइजेसन सुविधा, क्याथटेरीजेसन सेट, लेन्ज्थ (वाईड वेज्ड चेस्ट फर पेडियाट्रिक), पल्स अक्स मिटर, रेडियो कम्युनिकेसन सिस्टम, नेबुलाइजर, अस्किजन, फ्लो मिटर, स्पाइन सपोर्ट, फ्यक्चर स्प्लिन्ट लगायतको सुविधा हुन्छ।
