काठमाडौं— उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्थानीयदेखि केन्द्रसम्मका सरकारी अस्पतालको व्यवस्थापन कमजोर रहेको बताएका छन्।
मन्त्रालयद्वारा स्वास्थ्य नीतिको प्रारम्भिक मस्यौदामा छलफल गर्न अयोजित कार्यक्रममा बोल्दै उनले सरकारी अस्पतालको व्यवस्थापनमा देखिएको कमजोरीबारे प्रश्न गरेका थिए।
उनले भने, ‘नजिकैको निजी अस्पतालमा व्यवस्थापन राम्रो हुन सक्ने तर हाम्रा सरकारी अस्पताल सधैं अस्तव्यस्त किन हुन्छ, सरकारी अस्पतालबाट निजी अस्पतालले पनि व्यवस्थापनबारे केही सिक्ने कि?’
उनले सरकारी र नीजि क्षेत्र मिलेर जानुपर्नेमा जोड दिए। ‘सरकारी अस्पताल सुकोस् अनि हामीले नाफा कमाउन पाउथ्यौँ भन्ने दृष्टिकोण निजी अस्पतालले बदल्नुपर्छ,’ उनले भने, ‘निजी क्षेत्र कमाउने क्षेत्र मात्र होइन, त्यसकारण जनताको सवस्थ्यलाई केन्द्रमा राखेर काम गर्नुपर्छ।’
गुणस्तरीय सेवा प्रवाहमा सरकारलाई सहयोगीको भूमिकामा निजी क्षेत्र हुनुपर्ने उनले बताए।
नयाँ स्वास्थ्य नीति सबै पक्षलाई समेट्ने गरी वृहद छलफल गरी आउने उनले आश्वासन दिए ।
उनले आयुर्वेद र मौलिक चिकित्सालाई वैकल्पिक नभनी छुट्टै विषयको रुपमा बुझ्न आग्रह गरे ।
स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रप्रसाद यादवले नेपालको जनसंख्या अनुसारको आवश्यक अस्पताल शैया नभएको बताए। उनले भने, ‘हामीलाई ६० हजार वेड आवश्यक छ तर सरकारी अस्पतालको बेड संख्या करिब ७ हजार छ भने नीजिको समेत जोडेर हेर्दा जम्मा २२ हजार बेड छ।’
सरकारी अस्पतालको सेवाप्रति सधै गुनासो आइरहने तर बिरामीको संख्यामा भने कमी नभएको उनले बताए ।स्वास्थयमा बजेट भएन पनि भन्ने तर दिएको बजेट पनि खर्च गर्न नसक्ने अवस्थाबारे पनि नीतिले बोल्नुपर्ने राजयमन्त्री यादवको भनाई छ।