काठमाडौं– सरकारले कान्ति बाल अस्पतालका लागि ५ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले कान्ति बाल अस्पताल लागि आवश्यक व्यवस्था गर्न ५ करोड आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका हुन्।
आइतबार अस्पतालको ५७औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले कान्ति लगायतका सरकारी अस्पतालहरूको स्तरोन्नतिका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने नीति लिएको पनि स्पष्ट पारे। यसैगरी क्यान्सर उपचार सेवालाई प्रभावकारी बनाउन प्याथोलिजस्ट पठाउने पनि उनलेब बताए।
राज्यमन्त्री यादवले स्वास्थ्य सेवालाई सहज बनाउने संवैधानिक व्यवस्था भए पनि बजेट र जनशक्तिको अभावमा काम तत्काल गर्न सक्ने अवस्थामा सरकार नरहेको पनि स्पष्ट पारे।
अस्पतालले बाल स्वास्थ्यका सबै विशिष्टिकृत सेवाहरूको स्थापना गर्दै बाल स्वास्थ्य सम्बन्धी अध्ययन, अध्यापन र राष्ट्रिय अनुसन्धान केन्द्रसहितको बाल स्वास्थ्य अध्ययन प्रतिष्ठानको रुपमा विकास गराउने लक्ष्य लिएको छ।
अस्पतालका निर्देशक डा. गणेशकुमार राईले सो लक्ष्य प्राप्तिमा नेपाल सरकारको पूर्ण साथ रहने विश्वास समेत व्यक्त गरे।