पोखरा– पोखारालाई स्वस्थ शहर बनाउने अभियान सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन कार्यक्रमबाट थाल्ने पोखरा महानगरपालिकाले जनाएको छ । शनिवार महानगरपालिकाकै सभाहलमा आयोजित एक अन्तरक्रिया कार्यक्रम बोल्दै नगर प्रमुख मानबहादुर जिसीले सूर्तिजन्य पदार्थको विक्री, वितरण र सेवन नियन्त्रणमा महानगरले चाँडै विशेष कार्यक्र सहित अघि बढ्ने तयारीमा रहेको बताएका हुन्।
सूर्तिजन्य पदार्थ र मदिराको सेवनले महानगरबासीको स्वास्थ्यमा हानी पुर्याइरहेको बताउँदै त्यसको नियन्त्रणका लागि आफूले यसअघि पनि छलफल चलाएको बताए । उनले भने, ‘यी विषयमा महानगरपालिका आफैंले पनि केही कार्यक्रम गर्ने सोचिरहेको थियो । सरोकारवालाको समेत सहयोग हुँदा अझै प्रभावकारीमा अघि बढाउन सकिन्छ ।’ अन्तरक्रिया कार्यक्रम उक्त कार्यक्रम चाँडै सुरु गर्ने भोक जगाएको उनले बताए ।
कार्यक्रम कार्यान्वयनका लागि बजेट भन्दा ठूलो कुरा इच्छाशक्ति भएको बताउँदै कार्ययोजना बनाएर अघि बढ्नुपर्ने उनको धारणा थियो । उनले भने, ‘सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमनका विषयमा नेपाल सरकारले बनाएका ऐन, कानून कार्यान्वयनका साथै महानगरले गर्न सक्ने अन्य पहलकदमीका विषयमा ‘एक्सन प्लान’ बनाउँ । त्यसका लागि यहाँहरुको सहयोग जरुरी हुन्छ । हामी तुरुन्तै अघि बढ्न तयार छौं।’

महानगरसँग सूर्तिजन्य पदार्थको नियन्त्रणका विषयमा अन्तक्रिया गर्न पुगेका स्वास्थ्य मन्त्रालयका अधिकारी, द युनियन, एक्सन नेपालका पदाधिकारीले महानगरको उक्त कार्यमा आफूहरुले सघाउने प्रतिबद्धता जनाएका छन्।
हाल कास्की १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले पोखरा महानगर सूर्तिजन्य पदार्थका लागि बनाइएका कानून कार्यान्वयन, यसको सेवन तथा विक्री वितरण नियमन र नियन्त्रणका लागि उदाहरणीय बनोस् भन्ने चाहना रहेको बताए । स्वास्थ्य मन्त्री रहेका बेला यसको नियमन र नियन्त्रणका लागि कानून निर्माणमा प्रभावकारी भूमिका निर्वाह गरेका उनले भने, ‘यसको जथाभावी प्रयोगले सेवन नगर्ने समेत शिकार भइरहेका छन् । पोखरा महानगरपालिकाले सूर्तिजन्य पदार्थ नियन्त्रका लागि देशकै स्थानीय तहमा नेतृत्वदायी भूमिका खेलोस् भन्ने मेरो चाहना छ।’
सूर्तिजन्य पदार्थको उत्पादन, सेवन र विक्रीवितरण नियन्त्रणमा विश्वव्यापी अभियान चलाइरहेको द युनिय साउथ एशिया प्यासिफिकका डेपुटी डाइरेक्टर डा तारासिंह बमले पोखरलाई ‘स्वस्थ्य शहर बनाउने’ उक्त अभियान आफ्नो पूर्ण सहयोग रहने बताए । उनले भने, ‘कानून कार्यान्वयन र सचेतनाको अभियानमा महानगरले नेतृत्व गरोस् । हामी उक्त अभियानमा हातेमालो गर्न तयार छौं।’
तत्काल एक वर्षका लागि यो अभियानमा कसरी अघि बढ्ने भन्ने विषयमा एक वर्षको योजना बनाउँदै अघि बढ्न सकिने उनले बताए । सँगै यही अभियानका लागि साउथ एशियाका विभिन्न देशका नगरहरुका प्रमुखहरुको ‘एशिया प्यासिफिक सिटी अलयान्स’मा सदस्यताका लागि मेयर जिसीलाई निम्तो दिए । कार्यक्रममा उपस्थित वडाअध्यक्षहरुलाई इंगित गर्दै जनतालाई स्वस्थ राख्न राजनीतिकर्मीको भूमिका डाक्टरको भन्दा बढी रहने बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता तथा स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्र प्रसाद श्रेष्ठले जनता स्वस्थ राख्ने अभियानमा महानगरले देखाएको तदारुकताको प्रशंसा गरे । उनले पोखरालाई स्वास्थ्य क्षेत्रमा समेत नमूना महानगर बनाउने सकिने बताउँदै यसका लागि स्वास्थ्य मन्त्रालयको सहयोग रहने जानकारी गराए । उनले भने, ‘नसर्ने रोगको भारत बढ्दै गएको अवस्थामा त्यसको एउटा कारण सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि प्रभावकारी पहल जरुरी छ।’
स्वास्थ्य मन्त्रालयका कानून उपसचिव पुष्कर नेपालले सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि विद्यमान कानूनी व्यवस्थाका विषयमा जानकारी गराएका थिए भने डा बद्री पौडेलले यसले निम्त्याउने रोगका विषयमा बताएका थिए।
महानगरका वडाअध्यक्षहरुले पनि सूर्तिजन्य पदार्थ सेवन निरुत्साहित जरुरी रहेको बताउँदै यसका लागि आफ्नो सक्रिय सहभागिता रहने जनाए । उनीहरुले आफ्ना जिज्ञासा र अभिव्यक्ति राख्दै यथाशिघ्र यसका निम्ति अघि बढ्नुपर्नेतर्फ संकेत गरे । वडा नं ९ का अध्यक्ष रामजी लामिछानेले भने, ‘यो स्वास्थ्यका लागि हानिकारक छ । यसमा जनता अनावश्यक खर्च भइरहेको छ भने यसको सेवन नियन्त्रण गर्ने कार्यक्रम सुरु गर्न ढिलाई गर्नुहुँदैन।’

सूर्तिजन्य पदार्थ नियन्त्रणमा सक्रिय सामाजिक संस्था एक्सन नेपालले कार्यक्रम समन्वय गरेको कार्यक्रममा यसका अध्यक्ष आनन्द चन्द, महानगरका वडाअध्यक्षहरु र स्वास्थ्य पत्रकार मञ्चका पदाधिकारीहरु सहभागी थिए।
