काठमाडौं- शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिबाट बहुमतले पारित भएको चिकित्सा शिक्षा विधेयक समितिबाट भने पारित हुन सकेन।
सहमतिमै आज टुंग्याउनुपर्ने भनेर सदस्यहरुले छलफलका क्रममा बताए पनि विधेयक टुंगो नलगाई बैठक स्थगित भएको हो।
विधेयकमा समेटिएका केही विषयमा सत्ता पक्ष र प्रतिपक्षको फरक मत छ। सत्तापक्ष नेकपाका सांसदहरुले डा गोविन्द केसीसँगको सहमतिको मूल भावना अनुसार विधेयक आउनुपर्ने र प्रतिपक्षी कांग्रेसका सांसदहरुले हुबहु आउनुपर्ने विषयमा उपसमितिदेखि नै तर्क गर्दै आएका थिए।
उपसमितिले आसयपत्र लिएका प्रस्तावित मेडिकल कलेजहरुले उपत्यकाबाहिर हाल भइरहका विश्वविद्यालयबाट नै सम्बन्धन पाउन सक्ने बाटो खुला राखेर विधेयक पारित गरेको हो। यो विषयमा कांग्रेसको असहमति छ।
त्यस्तै, सिटिइभिटी अन्तर्गतका कार्यक्रमको फेजआउट र विधेयकको प्रस्तावनाको विषयमा पनि दुई पक्षबीच फरक मत छन्। सरकार डा केसीबीच विधेयकको प्रस्तावनामा माथेमा कार्यदलको प्रतिवेदनको कुरा राख्ने सहमति भए पनि उपसमितिले भने यसलाई हटाएको छ।
समितिको आजको छलफलमा पनि सांसदहरुले दल निकट धारणा नै राखेका थिए। सांसदहरुको फरक मत रहेपछि १० मिनेट बैठक स्थगित गरेर सहमतिको प्रयास गरिएको थियो। तर सहमति भने जुट्न सकेन।
'विधेयकका विषयमा थप छलफल गरेर समितिबाट निष्कर्षमा पुग्ने सहमति बनेको छ', समिति सभापति जयपुरी घर्तीले भनिन्, 'अर्को बैठक २५ गते बिहान सवा १० बजे बस्नेछ।'
यता, आजै बिहान पत्रकार सम्मेलन गर्दै डा गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक नसच्चिए समय सीमाअघि नै अनसन बस्ने चेतावनी दिएका छन्। १८ गतेदखि अनसन बस्न उनी इलाम पुगे समितिकी सभापति जयपुरी घर्तीको आग्रहपछि २५ गतेसम्मका लागि अनसन स्थगित गरेका थिए।






