राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिकामा ‘स्वस्थ्य नगरपालिका, समृद्ध नगरपालिका’ अभियान सुरु भएको छ। शारीरिक र मानसिक रुपमा स्वस्थ नागरिकबाट मात्रै नगरको समृद्धि सम्भव भएको निस्कर्षसहित नगरपालिकाले अभियान सुरु गरेको हो।
नगरको समग्र विकासका लागि नागरिकको स्वास्थ्य पहिलो सर्त भएकाले ‘स्वस्थ्य नगरपालिका, समृद्ध नगरपालिका’ अभियान अघि सारीएको मेयर वसन्त मिश्रले बताए। ‘रोगी शरीर र रोगी सोचले विकासको गतिलाई अगाडि लैजान सकिँदैन’ उनले भने, ‘त्यसैले सकेसम्म नागरिकलाई रोगमुक्त बनाउँदै अन्य कामलाई पनि अघि बढाउने योजनामा छौं।’
अभियान अन्तर्गत पहिलो चरणमा क्यान्सर र मधुमेहका बिरामीलाई लक्षित गरी नगरका १२ वटै वडामा ‘विशेषज्ञ स्वास्थ्य शिविर’ सुरु गरिएको छ। जसअन्तर्गत सोमबार वडा नं. १, वैरवामा ८५ जना बिरामीको चेकजाँच गरियो। जसमध्ये ६५ जना मधुमेह र १ जनामा क्यान्सरको लक्षण देखिएको छ।
यसैगरी, मंगलबार वडा नं. २ का ९० जनाले स्वास्थ्य चेकजाँच गराएका छन्। जसमध्ये ७५ मधुमेह र २ जनामा क्यान्सरको लक्षण देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक डम्बर गुप्ताले जानकारी दिए। बिरामीहरुलाई आवश्यक औषधि र थप उपचारको व्यवस्था समेत गरिएको उनले बताए।
शिविरमा प्राथमिक स्वास्थ्य केन्द्रका डा. सञ्जिव झा, जितेन्द्र यादव, कुन्दन ठाकुर, सञ्जय साह लगायतको टिम परिचालित छ।
नगरपालिकाको स्वास्थ्य शाखाले तीन महिनाअघि गरेको एक सर्वेक्षणमा नगरभरि १८ क्यान्सर र १ हजार २४ मधुमेहका रोगी फेला परेका थिए। शिवीरका क्रममा रोगीको संख्या थप हुनसक्ने गुप्ताले बताए।