काठमाडौं – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दास्रो सिनेट बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानको वर्षिक बजेट तथा कार्यक्रम स्विकृत गरेको छ।
सिनेटले प्रतिष्ठानका लागि २२ करोड २२ लाखको कार्यक्रम तथा बजेट स्विकृत गरेको हो। प्रतिष्ठानले आर्थिक वर्ष २०७५/०७६ का लागि एक अर्ब ९२ करोड ७९ लाख ५५ हजारको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको थियो। उक्त प्रस्तावमाथि भएको छलफलपछि बैठकले २२ करोड २२ लाखको बजेट तथा कार्यक्रम स्विकृत गर्दै एक अर्ब ७९ करोड ९ लाख ५५ हजारको पुँजीगत अनुदानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ।
सिनेटमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिकरण नगर्न निर्देशन दिएका छन्। यसका साथै प्रतिष्ठानले सम्पादन गर्ने कार्य पारदर्शी र निष्पक्ष हुनुपर्ने कुरामा जोड दिँदै प्रतिष्ठानमा कर्मचारी स्वतः स्थायी नहुने र प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्नुपर्ने, डाक्टर तथा कर्मचारीलाई समयमा तलब पाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्।
प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रतिष्ठानलाई स्तरोन्नती गर्दै क्रमिक रुपमा विस्तार गर्दै जाने बताए। ‘अस्पतालको सेवा सुविधा र पूर्वाधार विकास गर्ने र क्रमिक रुपमा शैक्षिक कार्यक्रममा सुचारु गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘प्राज्ञिक कार्यक्रम सुरु गरेपछि जनशक्ति तयार हुने र आर्थिक रुपमा पनि प्रतिष्ठान सवल हुँदै जानेछ।’
बैठकमा प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले प्रतिष्ठानले एक सय दिन नपुग्दै दक्ष जनशक्ति, आधुनिक उपकरण र सेवा क्षेत्र व्यवस्थापनमा उल्लेख्य कार्य गरेको बताइन्।
यस्तो छ सिनेट बैठकपछि प्रतिष्ठानले जारी गरेको विज्ञप्ति
.jpg)
.jpg)