रुपन्देही – प्रदेश ५ को सामाजिक विकास मन्त्रालय बुटवल रुपन्देहीले प्रदेशमा रहेका चारवटा अञ्चलस्तरीय अस्पतालको सुदृढीकरणका लागि १८ करोड रुपैयाँ दिने निर्णय गरेको छ। प्रदेश ५का अञ्चलस्तरीय अस्पतालहरुमा सेवाग्राहीको चाप रहेको र सेवाप्रवाहलाई प्रभावकारी बनाउन संघीय सरकारको बजेट भन्दा बढी आवश्यक रहेको बताउँदै बजेट थप विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
बुटवलको लुम्बिनी अञ्चल अस्पताल, राप्ती अञ्चल अस्पताल, भेरी अञ्चल अस्पताल र आयुर्वेद चिकित्सालय बिजौरी दाङलाई उक्त रकम दिनेनिर्णय गरिएको हो । मेसिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च ( सिटिस्क्यान मेशिन मर्मत) निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च, इलेक्ट्रिक वायरिङ, मर्मत प्रसुति वार्डको गुणस्तर सुधारका लागि बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश समाजिक विकास मन्त्रालयले लुम्बिनी अञ्चल अस्पताल बुटवललाई ७ करोड ४७ लाख ५० हजार, भेरि अञ्चल अस्पताल नेपालगञ्जलाई ७ करोड २० लाख ८० हजार, राप्ती अञ्चल अस्पताल, तुल्सीपुरलाई ३ करोड ३७ लाख र आयुर्वेदिक चिकित्सालय, दाङलाई ५० लाख रुपैयाँ विनियोजन गरेको हो। बजेट अभावका कारण यी अस्पतालले सेवा सञ्चालनमा समस्या झेलिरहेका थिए । अस्पतालले बजेट पाएपछि सेवाको गुणस्तर सुधार हुने लुम्बिनी अञ्चल अस्पतालका मेसुडा कृष्ण प्रसाद खनालले बताए।
अस्पतालको आवश्यकता संघीय सरकारको बजेटले नधान्न भएपछि प्रदेश सरकारबाट विनियोजन गरिएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । बजेट विभिन्न १० शिर्षकमा खर्च गर्न भनिएको छ । प्रदेश सरकारले बजेट बनाउने बेलासम्म अञ्चल अस्पताल प्रदेश मातहतमा नआएको कारण पहिले बजेट नबनाएको र पछि अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बजेट अभावका कारण उपचारमा समस्यामा नपरोस् भनेर अन्य क्षेत्रको बजेट घटाएर यता दिइएको मन्त्री बरालले बताए।
उनले आवश्यकता अनुसार अरु अस्पताललाई पनि बजेट उपलब्ध गराइने बताएका छन्। उनले भने, ‘प्रदेशभित्र रहेका अन्य अस्पताललाई पनि उनीहरु समस्या हेरि बजेट दिन सकिनेछ । बजेट अभावले उनीहरुले दिइरहेका सेवा रोक्नुपर्ने अवस्था आउन दिइनेछैन,’ उनले भने ।