काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका दुई सचिवलाई जिम्मेवारी बाँडफाँड गरिएको छ। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरिय निर्णय गर्दै कामको जिम्मेवारी तोकेका हुन्।
मन्त्री यादवले स्वास्थ्य तर्फको जिम्मेवारी सचिव डा पुष्पा चौधरीलाई दिएका छन् भने जनसंख्या तर्फको जिम्मेवारी अर्का सचिव केदार बहादुर अधिकारीलाई दिएका छन्।
सरकारले सचिव चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो। तर, सचिव चौधरीले ऐन विपरित आफूलाई सरुवा गरेको भन्दै सर्वोच्च पुगेकी थिइन्। सर्वोच्चले सचिव चौधरीलाई सरुवा गर्न नमिल्ने आदेश दिएको थियो। यो बिचमा सरकारले अधिकारीलाई स्वास्थ्यमा सरुवा गरेर पठाएको थियो। त्यसयता स्वास्थ्यमा दुई सचिव भएका हुन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार मन्त्रीस्तरीय निर्णयबाट दुबै जनालाई छुट्टाछुट्टै महाशाखा र विभागको जिम्मेवारी तोकिएको छ। उनका अनुसार सचिव चौधरीलाई मन्त्रालयको नीति योजना, अनुगमन, समन्वय महाशाखा सहित स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिइएको छ। अर्का सचिव अधिकारीलाई जनसंख्या महाशाखा हेर्ने गरी जनसंख्या सचिवको रुपमा जिम्मेवारी दिइएको छ। त्यसबाहेक मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा, औषधि व्यवस्था विभाग र आयुर्वेद विभागको जिम्मेवारी अधिकारीलाई दिइएको छ।