भक्तपुर- खानेपानीमन्त्री बिना मगरले घरपरिवार र समाजले क्यान्सर भएका बिरामीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएकी छन्।
भक्तपुर क्यान्सर अस्पताल परिसरमा शनिबार क्यान्सर सर्भाइभ क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै खानेपानी मन्त्री मगरले रोग लाग्यो भन्दैमा बिरामीहरुलाई हेर्ने नजर परिवर्तन गर्नुपर्ने बताइन्। 'रोगसँग लड्ने आत्मबल बलियो बनाऔं। जब आत्मबल कमजोर हुन्छ अनि हामी बिरामी पर्छौं। त्यसैले क्यान्सर भएका बिरामीलाई आग्रह गर्छु, आत्मबल दह्रो बनाई गाउँ समाजमा सान्त्वना दिनुहोला।'
भक्तपुर क्यान्सर अस्पतालमा थप खानेपानी पानीको व्यवस्थापन गर्न कुनै कसर बाकी नराख्ने पनि उनले प्रतिबद्धता जनाइन्।
मन्त्री मगरले भक्तपुर क्यान्सर अस्पतालमा प्रसुन देवी घिराइयाको आर्थिक सहयोगमा निर्माण भएको शुद्ध पिउने पानीको उद्घाटन समेत गरिन्। शुद्धीकरण सहितको उक्त पिउने पानी करिब १२ लाख लगानीमा तयार भएको हो। कार्यक्रममा उक्त अस्पताललाई २३ लाख बराबरको अल्ट्रासाउन्ड मेसिन खरिद गर्न सहयोग पुर्याउने समाजसेवी रिना श्रेष्ठ र प्रसुन देवी घिराइयालाई सम्मान गरिएको थियो।