काठमाडौं– शिक्षा तथा स्वास्थ्य समितिबाट पारित चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसदमा पेस भएको छ। समितिकी सभापति जयपुरी घर्तीले आइतबारको बैठकमा प्रतिवेदन पेस गरेकी हुन्।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक गत असार २२ गते संसदमा दर्ता भएको थियो।
प्रतिनिधिसभाको साउन १३ को बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्राप्त संशोधन सहित दफावार छलफलका लागि समितिमा पठाउने निर्णय भए बमोजिम समितिमा साउन २१ मा पुगेको थियो।
'समितिको असोज ११ को बैठकबाट विधेयकको सम्बन्धमा दफावार छलफल गरी समिति समक्ष प्रतिवेदन पेस गर्न १० सदस्यीय उपसमिति गठन भएको थियो', घर्तीले भनिन्, 'उपसमितिले १५ वटा बैठकमा शिक्षा मन्त्री, संशोधन पेस गर्ने सांसदहरु, सरोकारवाला र सम्बन्धित विषय विज्ञहरुसँग छलफल गरी विधेयकमाथिको दफावार छलफल गरी पुस २३ गते समितिमा प्रतिवेदन पेस गरेको थियो।'
समितिको पुस २५ गतेको बैठकले बहुमतले प्रतिवेदन पास गरेको थियो।