काठमाडौं– संघीयता अनुसारको नयाँ संरचना र कर्मचारी समायोजन अध्यादेश सच्याउनु पर्ने लगायतका माग राख्दै आन्दोलनरत सरकारी डाक्टर र हेल्थ असिस्टेन्टसँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन गरेको छ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आन्दोलनरत पक्षसँग वार्ता गर्दै समस्या समाधान गर्न टोली गठन गरेका हुन्। मन्त्री यादवले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएका हुन्।
समितिको सदस्यहरुमा मन्त्रालयको प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागाईं र समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठ रहेका छन्।
वार्ता टोलीले दुवै पक्षलाई छलफलका लागि सोमबार मन्त्रालयमा बोलाएको छ। सरकारी चिकित्सक संघ (गोदान)का पदाधिकारीसँग बिहान १० बजे र हेल्थ असिस्टेन्ट संघ नेपालसँग १२ बजे छलफलको कार्यक्रम राखिएको छ।