काठमाडौं– बहुचर्चित चिकित्सा शिक्षा विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समिति हुँदै प्रतिनिधि सभामा प्रवेश गरेको छ। समितिकी सभापति जयपुरी घर्तीले समितिबाट बहुमतले पारित भएको प्रतिवेदन प्रतिनिधि सभामा पेश गरेकी हुन्।
समितिमा पेश भएसँगै यो प्रतिनिधि सभाको सम्पति भएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकले त्यसलाई स्वीकार गरेको छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको विरोध र डा गोविन्द केसीको अनसनकै बीचमा सत्तारुढ दलका सांसदहरुको मतका आधारमा संसदमा उक्त विधेयक पुगेको हो।
यस्तो छ अबको प्रक्रिया
विधेयकले पारित भई कानुनको रुप लिने केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। नियमित संसदको बैठकमा उक्त विधेयक पेश भएमा न्युनतम १५ दिनदेखि एक महिनामा यसले कानुनको रुप ग्रहण गर्ने छ।
अर्को बैठकमा छलफलका लागि यो विधेयक पेश हुने छ।
उक्त विधेयकमा सांसदहरुले आफ्नो धारणा राख्ने छन्। समय लिएर विभिन्न पार्टीका सांसदहरुले उक्त छलफलमा सहभागी हुने छन्। छलफलका क्रममा विधेयकका प्रावधान सच्चाउन माग गर्दै सम्बन्धित मन्त्री र सरकारसँग प्रश्न सोध्न पाउने छन्।
सांसदहरुले उठाएको प्रश्नमा मन्त्रीले जवाफ दिने छन्। त्यस्तै सांसदहरुले विधेयकमा समेट्न नसकेको भन्दै फरक प्रस्ताव राख्न पाउने छन्।
उक्त प्रस्तावका पक्षमा पुन छलफल हुने छ। मन्त्रीले जवाफ दिएपछि फिर्ता लिने वा निर्णयका लागि पेश हुने प्रक्रिया सुरु हुने छ। फिर्ता लिएमा यो प्रक्रिया समाप्त हुने छ। स्वीकार नगरेमा निर्णय प्रक्रियामा पेश हुने छ। तर सरकारले सांसदहरुले राखेको प्रस्ताव स्वीकार गरेर संशोधन आवश्यक देखिएमा संशोधन गर्ने छ।
आवश्यक नठानेमा पुरानै विधेयक पेश गर्ने छ। सांसदहरुले राखेको फरक प्रस्ताव पेश निर्णयका लागि पेश हुने छ। यसपछि प्रस्ताव स्वीकार र अस्वीकारको मतदान हुने छ। बहुमतले स्वीकार भएमा विधेयकमा समावेश हुने छ। अस्वीकार भएमा यो प्रक्रिया यही अन्त्य हुने छ। यो प्रक्रिया अन्त्य भएपछि सभामुखले मुल विधेयक निर्णयका लागि पेश गर्ने छन्।
सभामुखले प्रस्तावनादेखि विभिन्न धारा हुँदै समग्र विधेयक पारितका लागि पेश गर्ने छन्। संसदको बहुमतले सहमती जनाएमा विधेयक पारित हुने छ। विधेयक पारित भएसँगै राष्ट्रपति कार्यालय प्रमाणीकरणका लागि जाने छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयक राजपत्रमा प्रकाशित हुँदै कानुन बन्ने छ।