काठमाडौं– स्वास्थ्य बिमा बोर्डले मणिपाल शिक्षण अस्पतालसँग स्पष्टीकरण सोधेको छ। स्वास्थ्य बिमाका बिरामीलाई सेवा दिने र प्रक्रिया पुर्याउने सम्बन्धमा बिमित, बिमाका क्षेत्रीय कार्यालय र प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयबाट समेत गुनासो आइरहेको भन्दै स्पष्टीकरण सोधिएको हो।
बोर्डले विभिन्न ठाउँबाट आएका गुनासाहरुबाट आफ्नो ध्यानाकर्षण भएको बताउँदै स्पष्टीकरण सोधेको हो। गत २० गते प्रेषित स्पष्टीकरण पत्रमा अस्पताललाई सेवा सुधार गर्न निर्देशन गरिएको छ।
शिक्षण अस्पतालले प्रक्रिया नपुर्याई बोर्डसँग सेवा बापतको शुल्क दाबी गर्ने गरेको छ। अस्पतालले सेवा शुल्क दाबी गर्दा बिमितको सदस्यता नम्बर र क्लेम कोर्ड समेत पठाउने गरेको छैन।
यसकारण अस्पतालले फर्जी दाबी गरेको हुनसक्ने आशंका समेत गरिएको छ। बोर्डको क्लेम निरीक्षण समितिले क्लेम भेरिफाइ गर्न चाहिने बिमितको सदस्यता नम्बर, क्लेम कोर्ड लगायतका आवश्यक कागजपत्र नियमानुसार प्रस्तुत गर्न यसअघि मंसिर ३ गते नै पत्र पठाएको थियो।
उक्त पत्रअनुसार साइटमै आवश्यक डकुमेन्ट अपलोड नगरी बोर्डमा केही कागजपत्र मात्रै पठाइएको बुझिएको छ। यसबाहेक बिमितलाई प्रदेश कार्यालय पठाई पत्र माग्ने र सम्झौता बमोजिमका काम नगर्ने जस्ता गुनासाहरु आउने गरेको बोर्डले जनाएको छ।
यी विषयमा यसअघि पठाइएको पत्रअनुसार अस्पतालले डकुमेन्ट नपुर्याएपछि बोर्डका नवनियुक्त कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले अस्पतालसँग स्पष्टीकरण सोधेका हुन्।
बोर्डसँगको सम्झौता र नियमअनुसार काम गर्न सुझाउँदै उनले स्पष्टीकरण माग गरेका हुन्। बोर्डसँग भएको सम्झौता, मापदण्ड र निर्देशिका विपरीत काम गरेको पाइए कारबाहीका साथै दाबी अनुसारको भुक्तानी रोक्का गरिने चेतावनी दिइएको छ।