काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सरकारको समयमा बनाइएका दुई अस्पताललाई वर्तमान सरकारले विघटन गर्न लागेको प्रति आपत्ति जनाएका छन्।
तनहुँस्थित बेलचौतारामा रहेको गिरिजाप्रसाद श्वासप्रश्वास अस्पताल र बाँकेमा निर्माणाधीन सुशील कोइराला क्यान्सर अस्पताल सरकारले बन्द गर्ने निर्णय गरेको भन्दै पौडेलले आपत्ति जनाए।
बेलचौतारामा रहेको अस्पताल सात सय रोपनीमा फैलिएको छ। ३५ बेड क्षमताको उक्त अस्पताललाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको समय भारतले उक्त अस्पताललाई आर्थिक सहयोग गर्ने सैद्धान्तिक सहमति भएको बताइएको छ।
वर्तमान सरकारले कांग्रेसका पूर्वसभापति तथा प्रधानमन्त्रीका नाममा रहेका अस्पतालको सञ्चालक समिति विघटन गरेको भन्दै पौडेलले विरोध जनाए। श्वासप्रश्वासको समस्याबाट पूर्वप्रधानमन्त्री गिरिजाको र क्यान्सर रोगबाट सुशीलको मृत्यु भएको थियो। कांग्रेसले दिवंगत दुवै नेतालाई भएको रोगकै नामबाट अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो।
दिवंगत दुई नेताका नाममा बनेका अस्पताल बन्द गरिए सडक र सदनमा उत्रने पौडेलले चेतावनी दिए।
स्वास्थ्य मन्त्रालय विघटनको प्रक्रियामा लागेको जनाउँदै कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले आपत्ति जनाएका छन्। ‘स्वास्थ्यमन्त्रीले नै यी दुई अस्पताल बचाउन नसकेको जानकारी दिनुभयो,’ उनले भने।
नेता पौडेलले आज कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आकस्मिक पत्रकार सम्मेलन गरेका हुन्।