काठमाडौं- चिकित्सा शिक्षा सुधारका माग राख्दै इलाममा आमरण अनसनरत डा गोविन्द केसीलाई तत्कालै आइसियूमा लैजान चिकित्सकले सुझाब दिएका छन्। अनसनका कारण डा केसीको शरीर गल्दै गएको र उनको दायाँ फोक्सोमा संक्रमण बढेका कारण तत्कालै आइसियूमा लैजानु पर्ने अवस्था आएको डा विजेन्द्र कुमार साहले जानकारी दिए।
'उहाँको दायाँ फोक्सोमा संक्रमण देखिएको छ, जसलाई हामी निमोनिया भन्छौं। उहाँको रोगसँग लड्ने क्षमता समेत घटेको छ' उनले भने, 'उहाँको मुटुको चाल अनियमित ढंगले घटेर ३४ र बढेर २४० सम्म पुगेको छ। उहाँलाई अर्जेन्ट आइसियूमा लैजानु पर्ने देखिएको छ।' उनका अनुसार डा केसीको घाँटीमा समेत संक्रमण भएको छ। डा केसीलाई चक्कर लाग्ने, पेट फूल्ने, दुख्ने र उठ्नै नसक्ने अवस्थामा पुगेको पनि उनले जानकारी दिए।
डा केसीलाई आइसियूमा लैजान भने पनि इलाममा आइसियूको सुविधा भने छैन। यो विषयमा डाक्टर साहले जिल्ला प्रशासन कार्यालयमा जानकारी समेत गराएको बताए।
डा केसीको रगतमा सुगरको मात्रा पनि कम भइसकेको डा साहले जानकारी दिए।
डा केसी २५ गतेदेखि आमरण अनसनमा छन्। यो उनको १६ औं अनसन हो। डा केसीले विगतमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका ६ बुँदे माग राखेका छन्।