काठमाडौं– केही दिनदेखि मौसमी रुघाखोकीका बारेमा भ्रामक सन्देशहरु प्रशारण तथा प्रकाशन भइरहेको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ध्यानाकर्षण भएको त्यसको खण्डन गरेको छ । काठमाडौँ लगायत अन्य जिल्लाहरुमा स्वाइन फ्लुको कारणले अस्पतालमा बिरामीहरुको मृत्यु भएको तथा सयौं बिरामीहरु भर्ना भइ उपचार गराईरहेको भन्ने समाचारहरु गलत भएको जनाइएको छ।
यस्तो छ महाशाखाको स्पष्टोक्ति
नेपालमा हालसम्म बंगुरबाट मानिसमा सर्ने स्वाइन फ्लु (जुन विरलै मानिसमा सर्ने गर्दछ) देखिएको छैन । हाल देखापरेको यो रोगलाई संचारमाध्यमहरुमा स्वाइन फ्लु भनिएको भएता पनि यो रोग मानिसबाट मानिसमा सर्ने सिजनल इनफ्लुएन्जा हो । सिजनल इनफ्लुएन्जा कुनै नयाँ रोग नभई श्वास-प्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने तीब्र खाले संक्रामक रोग हो । जाडो मौसममा तथा मौसम परिवर्तन हुने वेलामा अघि पछिको भन्दा मौसमी रुखाखोकी सहितको ज्वरो (सिजनल इन्फ़्लुएन्जा)बाट प्रभावित बिरामीहरुको संख्या बढ्ने गरेको पाइएको छ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा खोक्दा वा हाच्छिउँ गर्दा सर्न सक्छ । यो रोग प्राय सामान्य रुघाखोकीको रुपमा देखा पर्दछ र यी लक्षणहरु केही दिनमा आफैँ हराएर जान्छ भने केही मानिसमा जटिलताहरु पनि देखा पर्न सक्छ । बिशेष गरी गर्भवती महिला ५, वर्ष मूनिका बालबालिका ६५, वर्ष भन्दा माथिका जेष्ठ नागरिक, रोग प्रतिरोध क्षमता कम भएका व्यक्तिहरु र दीर्घ रोग (जस्तै: मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धिरोग, दम र अन्य श्वास-प्रश्वास सम्बधि दीर्घ रोग, आदि)बाट प्रभावितहरुमा यसको जोखिम बढी हुन्छ र मृत्यु हुने सम्भावना पनि अन्य भन्दा बढी हुन्छ।
इन्फ़्लुएन्जा रोगको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा निशुल्क गरिन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा २०७५ मंसिर महिना देखी पौष २६ सम्म ३३४ जना बिरामीहरुको घाँटीको -यालको नमुना परिक्षण गरिएकोमा १६८ जना बिरामीहरुमा इन्फ़्लुएन्जा प्रमाणित भएको छ । ती मध्ये १४६ जनामा इन्फ्लुएन्जा ए एच १ पीडीएम ०९), ९ जनामा इन्फ्लुएन्जा एच ३ र १३ जनामा इन्फ्लुएन्जा बी प्रमाणित भएको छ। गत पौष महिनामा काठमाडौँमा इन्फ़्लुएन्जा रोग प्रमाणित १ जना व्यक्तिको थप जटिलता भई मृत्यु भएको जानकारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई प्राप्त भएको छ।
उक्त रोगबाट बच्ने उपाय बारे सूचना सन्देशहरु निरन्तर रुपमा प्रबाह भईरहेको छ र रोगको उपचार विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट जारी रहेको छ ।प्रकोप व्यवस्थापनका लागि केन्द्र देखी स्थानीय तह सम्मका स्वास्थ्य संस्थाहरुलाई सजग र तयारी अवस्थामा राखिएको छ । इन्फ़्लुएन्जा रोग सम्बन्धि कुनै पनि थप जानकारी चाहिएमा वा अस्पतालहरुमा धेरैको संख्यामा बिरामीहरु उपचारका लागि आएमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई सम्पर्क गर्न हुन समेत अनुरोध छ ।
इन्फ्लुएञ्जाका मुख्य लक्षण तथा चिन्हहरु:
• ज्वरो आउने (३८ डिग्री सेल्सियस् भन्दा बढी)
• खोकी लाग्ने
• घाँटी दुख्ने
बालबालिकामा देखिन सक्ने थप लक्षणहरु:
• वाकवाकी लाग्ने वा वान्ता हुने
• पेट मडारिने
• झाडा पखाला इन्फ्लुएञ्जाका सामान्य लक्षण र चिन्हहरु:
• हाँच्छिउ आउने
• नाकबाट पानी बहने वा नाक बन्द हुने
• टाउको दुख्ने
• मांसपेशी दुख्ने
• हाड जोर्नी दुख्ने
• आलस्य हुने
सिजनल इन्फ्लुएन्जाबाट बच्ने उपायहरु
खोक्दा, हाच्छिउँ गर्दा नाक, मुख छोप्ने (सफा रुमाल,कपडा वा पाखुराले )
सही तरीकाले साबुन पानीले पटक पटक हात धुने ।
हात नमिलाउने, नमस्कार गर्ने ।
दुरी कायम गर्ने । (अन्य व्यक्तिसँग कम्तीमा १ मिटर वा २ हात टाढा रहने )
रोगीलाई बेग्लै वा खुला झ्याल भएको कोठामा राख्ने (सम्भव भएसम्म रोगीलाई अन्य व्यक्ति भन्दा अलग्गै राख्ने )
आँखा, नाक तथा मुखमा अनावश्क रुपमा हात नलैजाने ।
जथाभावि नथुक्ने वा सिंगान नफाल्ने ।
शंकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बस्ने ।
रुघाखोकी लागेका व्यक्तिहरु ३–५ दिन सम्म घरमै आराम गरेर बस्ने ।
रोगी व्यक्तिलाई पौंष्टिक खाना र प्रशस्त मात्रामा झोलिलो खानेकुरा, भातको माड, दालको रस,तरकारीको रस, गेडागुडीको रस आदि खुवाउने ।
चुरोट रक्सी नखाने ।
दुध चुस्ने उमेरका बच्चाहरुलाई साविक बमोजिम नियमित स्तनपान गराउने ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सल्लाह बिना औषधि नखुवाउने ।