राजविराज– पाँच सदस्यीय छानबिन समिति गठन भएपछि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा जारी तनाव साम्य भएको छ। उपचारका लागि भर्ना भएका बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव सुरु भएको थियो।
छानबिनका लागि अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा रञ्जित झा, वडाध्याक्ष समीर झा, नेकपाका प्रतिनिधि सुखराम यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादव, पार्थो सरकारसहितको समिति गठन भएको छ।
छानबिनका क्रममा उपचारमा कमजोरी भएको फेला परे संलग्न स्वास्थ्यकर्मीहरुलाई कारबाही गर्ने र मृतकको पोष्टमार्टम धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गराउने सहमति भएको छ।
चिसोका कारण सिकिस्त भएका सप्तरीको छिन्नमस्ता गाउँपालिका–६, कोचाबखारीका ४० वर्षीय सहदेव सदाको बुधबार बिहान ७ बजे मृत्यु भएपछि उनका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका थिए।
उनलाई बिहान ४ बजेनै अस्पताल भर्ना गरिएको थियो। सलाइन चढाउनेबित्तिकै सदाको मृत्यु भएको आफन्तको आरोप छ।
अस्पतालमा प्रदर्शनका कारण तनाव उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन डिएसपी भावेश रिमालको कमान्डमा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
अस्पतालका निमित्त मेसु रन्जित झाले भने बिरामीको मृत्यु स्वाभाविक भएको बताएका छन्। हाइपोथर्मिया (शरीर चिस्सिएको) अवस्थामा सदालाई अस्पताल भर्ना गरिएको र उपचारका सबै प्रक्रिया सुरु भइसकेपछि मृत्यु भएको उनको भनाइ छ।
मृतक सदाकी पत्नी ३ छोरी र २ छोरा छन्।